पोखराबाट लागु औषधका एकजना डिलर ठूलो मात्रामा लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ साढे छ बजेको समयमा ठूलो मात्रामा लागुऔषधसहित माछापुच्छ्रे गाउपालिका-८ स्थायी घर भई पोखरा महानगरपालिका-२५ बस्ने २७ वर्षीय रामचन्द्र सुवेदीलाई पोखरा-८ आलुमाईलाचोकबाट पक्राउ गरेको हो।
आलुमाईलाचोकमा लागु औषधको कारोवार भइरहेको सूचना पाएको प्रहरी टोलीले ग१३प ४१५४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा लागु औषधसहित सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
आलुमाईलाचोकमा पक्राउ पर्दा स्कुटरमा लुकाई छिपाई राखेको टपेन्टाडोल ट्याब्लेट १०० एमजी नामको अबैध लागु औषध चार सय चक्की बरामद गरेको प्रहरी टोलीले अभियुक्त सुवेदीको घरबाट दुई कार्टुन र एउटा जेब्रा झोलामा लुकाई छिपाई राखेको टेन्टाडोल १०० एमजी लेखिएको लागुऔषध १७ हजार सात सय ८० चक्की र निजकै पोखरा ४ रामकृष्ण टोलस्थित कोठाबाट सोही नामको अबैध लागुऔषध दुई सय चक्की र ट्रामाडोल ५० एमजी लेखिएको लागुऔषध चारसय ६० चक्की बरामद गरिएको प्रहरीले जनाएको छ।
अभियुक्त सुवेदीविरुद्ध कास्की जिल्ला अदालतबाट लागु औषधसम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ।