पर्वतको फलेबास-५, खानीगाउँस्थित भवानी विद्यापीठलाई चीन सरकारले विभिन्न सहयोग उपलब्ध गराउने भएको छ।
नेपालका लागि राजदूत छन सोङले आज दिउँसो उक्त विद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहयोगको प्रतिबद्धताबारे जानकारी दिएका हुन्।
राजदूतले चिनियाँ दूतावासको तर्फबाट विद्यालयमा तत्काल एक थान स्मार्ट स्क्रिन उपलब्ध गराउन लागिएको बताए।
त्यसैगरी उक्त विद्यालयका दुई जना विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर दिइने छ। चीन पुगेपछि सम्बन्धित विद्यार्थीले आफ्नो शैक्षिकस्तरसँगै चिनियाँ भाषाको राम्रो दखल राख्ने विश्वास उनले लिएका छन्।
त्यसैगरी भवानी विद्यापीठका शिक्षक शिक्षिकालाई पनि थप अध्ययन र अवलोकन भ्रमणको अवसर उपलब्ध गराइने राजदूतले आफ्नो सम्बोधनमा उल्लेख गरे। यसबाट उनीहरुको अध्यापन क्षमतामा वृद्धि हुने ठानिएको छ।
त्यसैगरी विद्यालय हातामा खानेपानी शुद्धताको निम्ति दूतावासले गान्लु परियोजनाअन्तर्गत आवश्यक उपकरण उपलब्ध गराउने भएको छ।
सात दशक पुरानो उक्त विद्यालयको सुविधा सम्पन्न भवन निर्माणमा समेत चीनले सहयोग गर्नसक्ने बताइएको छ।
हाल १२ कक्षामा ४८६ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयका धेरै पूर्वविद्यार्थी नेपालको प्रशासनिक,राजनीतिक एवम् सुरक्षा क्षेत्रको उच्च तहमा पुगिसकेका छन्।
मुस्ताङको कोरोला नाकाको आधुनिकीकरण, कालीगण्डकी कोरिडर सडकको निर्माणमा समेत चीनले विशेष चासो राखेको छ। नजिकैको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको छ।