सधैंझैँ यो वर्षको दशैं सकिएर तिहार पनि सुरू भैसकेको छ । तुक्काबन्दी गर्नेहरू दशै दशा, तिहार हार भन्ने गर्थे । कतिका लागि यो तुक्काबन्दीले यो वर्ष पनि काम गर्यो-गर्छ होला, कतिलाई गरेन-गर्दैन होला । दिन बित्दै जाँदा दशैं र तिहारको महिमा पनि खिया लाग्दै गएको छ । धेरैका लागि त यी चाड अब मात्र फोटाे अप र टिकटकका लागि स्यूडो इभेन्ट मात्रै भएका छन् । धर्मको नाममा पाखण्डहरूको जय भैरहेको यो बेला कुनै दिन नयाँ पुस्ताले सोध्नेछ, जसले गर्छ पाप, उसकै हुन्छ फलिफाप भने किन गर्ने यो सब ढोंग ?, त्यसपछि यी चाडहरू पनि बाँकि हुन्छन् कि हुँदैनन्, त्यसमाथि अहिले नै बहस सुरू गरे हुन्छ ।
प्रसंग दशैंको ठीक अगाडि आएको विनाशकारी बाढी-पहिरोबाट सुरू गरौं । देश अकल्पनीय प्राकृतिक प्रकोपको चपेटामा पर्यो । ठूलो संख्यामा धनजनको क्षति भयो । सिंगो देश दुःखको आहालमा डुब्यो । देशमा एक किसिमको पीडाको माहौल बन्यो । लाग्थ्यो, यो वर्ष पीडितहरूको पीडामा देशमा कुनै दशैं आउने छैन । कम्तीमा राज्यले यो वा त्यो नाममा दशै मनाउने छैन ।
तर, त्यस्तो भएन । इन्द्रजात्राको लिंगो ठडियो, दशैंघरमा जमरा राखियो । फूलपातीको बढाइ भयो । राष्ट्रपतिले मन्दिर चाहारी रहे । राजादेखि राष्ट्रपतिसम्म सबैले दशैंको टीका पसल थापे । टीका पसलमा निधार पसार्न जानेहरूको लाइन लाग्यो । राष्ट्रपतिको टीका पसलमा एकजना यस्ता महान ढोंगी पनि निधार पसारिरहेका थिए, त्यो देखेर भने लाज पनि लजायो ।
त्यो निधार पसार्ने व्यक्ति अरू कोही थिएनन्, नेपालका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेलिनवादीका अध्यक्ष खड्गप्रसाद शर्मा ओली थिए । उनले घोषणा गरेका थिए कि ‘देश दुखेको छ, यसपटकको दशैंमा टीका लगाइ दिन्न’ । नभन्दै उनले कसैलाई पनि टीका लगाइ दिएनन् । सबैलाई लागेको थियो, प्रधानमन्त्री समवेदनशील भएछन् ।
बाढी पहिरोले ठूलो धनजनको क्षति हुदाँ अमेरिकामा घुमिरहेका ओलीले नेपाल फर्केपछि विमानस्थलमै पत्रकारहरूसँग भनेका थिए, ‘मलाई आउँछु भनेर बाढी पहिरो आएको थिएन । बाढी पहिरोले जनधनको नोक्सान नगरे के ले गर्छ त? ‘उनको यो भनाइ चरम असंवेदनशील मात्र थिएन, अमानवीय पनि थियो । स्वभाविक रूपमा विवादमा पर्यो । शायद, त्यसैको शोधभर्ना गर्न उनले दशैंमा कसैलाई टीका नलगाइदिने घोषणा गरेका थिए ।
उनले अरूलाई त टीका लगाइदिएनन् तर आफू भने राष्ट्रपतिकोमा गएर टीका लगाए । सबैलाई थाहा छ, राष्ट्रपति पौडेल प्रधानमन्त्री ओलीका आफन्त हैनन् । त्यसैले उनले यो दशैं–टीका कुनै नाता–साइनो पर्ने मान्यजनसँग लगाएका थिएनन् ।
ओलीले पौडेलसामु निधार पसार्नुको मुख्य कारण पौडेल राष्ट्रपति भएकाले नै थियो । अर्थात् राष्ट्रप्रमुखले सरकार प्रमुखलाई लगाइ दिएको यो एक किसिमको प्रोटोकल टीका थियो । यसले ओलीको ढोंगको मुखुण्डो नराम्ररी उतारिदियो र लाज पनि उनीसँग लजायो ।
यो दशैंमा ओलीले आफूले मात्र टीका लगाएनन्, उनका ‘स्वाँगे–भाइ’ रवि लामिछानेलाई पनि टीका लगाउने छुट्टी दिए । छुट्टी नदिएको भए यो वर्षको रविको दशैं प्रहरी हिरासतमा हुन्थ्यो । दशैंको विदा सकिएकै दिन रवि पक्राउ परेकाले पनि यो कुरा सजिलै भन्न सकिन्छ । अन्यथा, दशैं अगाडि पक्राउ पर्नु नपर्ने रवि दशैं लगत्तै पक्राउ पर्नुपर्ने कुनै कारण छैन । कारण केही थियो भने त्यो ओलीको रविप्रतिको अनुराग मात्र थियो ।
ओलीको अनुकम्पाले दशै मनाउन पाएका रवि अन्ततः ओलीकै आदेशमा प्रहरी हिरासतमा पुगे । जगजाहेर छ, आमनिर्वाचनपछि रवि नामको बेलुन ओलीले आफ्नै हावा हालेर फुलाएका थिए । यसरी हावा भरेर फुलाउने ओलीले कुनै दिन त्यही हावा खुस्काइ दिएर प्रहरी हिरासतमा पुर्याइदेलान् भनेर रविले सपनामा पनि सोचेका थिएनन् ।
अझ, आफ्नो स्वार्थपूर्तिका लागि ओलीले के के गर्न सक्छन् भन्दा पनि के के गर्न सक्दैनन् भन्ने एन्टीथेसिस राजनीतिको आलोकाँचो पात्र रविलाई थाहा हुने कुरा पनि भएन । त्यसमाथि पनि पक्राउ परेपछि उनी जे जसरी ओलीविरूद्ध खनिए, उनका लागि त्यो कति महंगो हुन्छ भन्ने कुरा त ओलीले पिना पेलेझै पेलेपछि मात्र थाहा हुन्छ । अहिले त त्यसको कास्टिङ मात्र देखिदैछ, खास फिलिम त सुरू भएकै छैन ।
जे होस्, नेपालमा ओली र रवि आम्नेसाम्ने भएका छन् । ओलीबाका छोराछोरीहरू र रवि दाइका भाइबहिनीहरू सडक र सञ्जालमा नांगेझार भएर पौठेजोरी खेलिरहेका छन् । ओलीबाका छोराछोरीहरू त पहिलेदेखि नै नांगेझार थिए, अहिले रवि दाइका भाइबहिनीहरू पनि त्यही तहमा ओर्लिएका छन् । उनीहरूको यो नग्न प्रदर्शनी देख्दा लाग्छ, रवि एक कल्ट लिडर हुन् र रास्वपामा नानाथरिका पद लिएकाहरू उनका भक्तहरू मात्र हुन् ।
नत्र रास्वपा खोल्नुभन्दा पहिलेको कुकृत्यका लागि एक व्यक्तिका रूपमा पक्राउ परेको रवि लामिछाने संगठित अपराध, ठगी र सम्पति छानबीन जस्ता तीनवटा फौजदारी मुद्दामा पक्राउ पर्दा सिंगो पार्टी यसरी आन्दोलित हुनुपर्ने कारण केही देखिदैन । तैपनि, अकारण आफ्नै राजनीतिक जीवनको आत्महत्या गरेर पुनः मुसिक भवः को बाटोमा दौडिरहेका छन् ।
यो स्तम्भकार सुरूदेखि नै एउटै कुरा लेख्दै आएको छ, कि रवि र ओली दुबैको राजनीतिक गोत्र एउटै हो, लोकरिझ्याइँवाद । यस अर्थमा उनीहरू सहगोत्री हुन्, स्वाँगेभाइ हुन् । लोकरिझ्याइँवाद आजको विश्व राजनीतिको सबैभन्दा ठूलो चुनौति हो । त्यसैले नेपालका लागि यी दुबै पात्र समस्या हुन्, समाधान हैनन् ।
यिनीहरू दुबैका देखाउने दात र चपाउने दात फरक छन् । यी दुबै वाचाल पाखण्डहरू हुन्, वाकपटुताको भरमा जनतालाई भाषणको घाँस हालेर शासन गर्न चाहन्छन् । यी दुबैले आफ्ना पार्टीलाई प्राइभेट लिमिटेड बनाएर केही मान्छेलाई अनुकम्पाको पद बाँडेका छन् । त्यही पदका लागि कृतज्ञता प्रकट गर्न सबै नांगेझार भएर फालिम लागेका छन् ।
जे भए पनि यो स्वाँगे–भाइ लडाइँ अझै केही दिन जारी हुने निश्चित छ । यो लडाइँमा यी दुईको स्वार्थको मिलन हुन्छ कि हुन्न ? हुँदा र नहुँदा त्यसको परिणाम के हुन्छ? अहिले नै केही भन्न सकिने अवस्था छैन । यद्यपि, एउटा कुरा चाहिँ तय छ कि यी दुबै आफू र आफ्नाका सारा लुगा खोल्दै क्रमशः नांगिदैछन् । सबै लुगा फुकालेर नांगिएपछि अन्ततः हुने भनेको लबस्तरा हो, अहिले उनीहरू लगभग त्यही अवस्थामा पुगेका छन् ।
यही बिचमा तिहार आउँदैछ । तिहार पनि दशैंजस्तै आउँछ, जान्छ । पीडितहरूले आँसुले मुछेर गाँस बुकाउनेछन्, शासकहरू या त त्यो दृश्यको खिल्ली उडाउँछन् या त भावनामा बगेर पूरा गर्नै नसकिने नानाभातिका घोषणा गर्नेछन् । अन्ततः पूरा गर्न सक्दैनन् र ‘खड्ग–ढोंग’ रच्छन् । परिणामतः खड्ग–ढोंगीहरूसँग लाज पनि लजाउँने हो, लजाउँछ ।
हिजो एकजना अमेरिकी कूटनीतिज्ञले नेपालको हालखबर सोधे । उनले जान्न चाहेको रविसँग सम्बन्धित समाचार थियो । मैले भने, ‘महोदय, नेपालमा रवि लागेको छ । रवि लाग्यो भन्दा पनि रविलाई साँढे सात लागेको छ । दोहोरो राहदानी दबाएर उनी जो दाहिने हुँदा जेल बाहिर थिए, उनी देब्रे भएकाले प्रहरी हिरासतमा पुगेका छन् । गन्तव्य त जेल नै हो, अहिले उनी पुगेको प्रहरी हिरासत ट्रान्जिट मात्र हो । बाँकि त समयको ऐनामा हेर्ने हो, हेर्दै जाउँ । समय आएपछि देखिन्छ नै ।
आदरणीय पाठकहरू, तपाइँहरुका लागि पनि कुरा त्यही हो । ओली र रवि नेपालका लागि राहू र केतूजस्तै हुन् । अहिले यी दुबै आम्नेसाम्ने छन् । यसपटक कसलाई बढी अनिष्ट हुन्छ ?, त्यो भने अहिले नै भन्न सकिन्न । तर, एउटा कुरा चाँहि निश्चित छ, जसलाई अनिष्ट भए पनि प्रकारान्तरमा देशका लागि भने त्यो राम्रै हुनेछ ।