दिदी–बहिनीले भन्ने मन्त्र
मार्कण्डेय नमस्तुऽतु नमस्ते महदायुषे। चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम।।
आयुःप्रद महाभाग सोमवंश समुद्भव। महामते मुनिश्रेष्ठ मार्कण्डेय नमोऽस्तु ते।।
भ्रातस्ववानुजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम्। प्रीतये यमराजस्य यमुनाया विशेषतः।।
यत्प्राप्ता च यमुनया यमराजस्य पूजनात्। तथा ममापि सकलं भवेज्जन्मनि जन्मनि।।
आयुर्लक्ष्मीर्यशोधैर्यं निर्भयत्वमरोगिता। वाक्पटुत्वमजाङ्यञ्च जायतां तव सर्वदा।।
(अर्थात: हे चिरञ्जीवी मार्कण्डेय मुनि! हजुरलाई नमस्कार छ। जसरी लोकमा हजुर चिरायु हुनुहुन्छ, त्यसरी नै मेरा दाजुभाइलाई पनि दीर्घजीवी बनाइदिनुहोस्। सोमवंशी आयुदाता एवं बुद्धिमान है मार्कण्डेय ऋषि! हजुरलाई प्रणाम छ। हे दाजुभाइ! यो मैले बनाएर दिएको यो शुभ भोजन यमराज र यमुनाका वरप्रसादले अत्यन्त उत्तम छ।
यो खानाले यहाँहरूको लामो समयसम्म कल्याण हुनेछ। जसरी यमुनाजीले यमराजको दीर्घजीवन प्राप्तिका लागि पूजाअर्चना गरिन् र उनी दीर्घजीवी भए, त्यस्तै मेरा यी दाजुभाइ पनि दीर्घजीवी होऊन्। आपसी सौहार्दको कामना राख्दै भगवानका प्रसादले हामी लामो आयुवाला बन्न सकौँ। धर्मराजका वरप्रसादले मेरा दाजुभाइमा सुदीर्घ आयु, धनसम्पत्ति, यशकीर्ति, धीरपन, निडरपन, निरोगिता आदि सुखदायक कुरा सही समयमा सही उत्तर दिने क्षमता चलाखीपनजस्ता अनेकौँ सकारात्मक गुण सदासर्वदा आइरहून्)
दाजुभाइले भन्ने मन्त्र
त्वं लक्ष्मीस्त्वमपर्णासि ब्राह्मी त्वं च सरस्वती। त्वत्पूजनात् भवेयुस्ताः पूजिता मम सर्वदा।।
आयुर्लक्ष्मीर्धनं धान्यं पश्वादिकमरोगिता। सर्व त्वदर्चनाद्दीप्तं भवेज्जन्मनि जन्मनि।।
पतिपुत्रधनैश्वर्यं सौभ्रात्रं जन्मजन्मनि। अक्षयं जायतां देवि धर्मराजप्रसादतः।।
(अर्थात: हे दिदीबहिनी! तिमीहरू नै मेरा लक्ष्मीस्वरूपा, अपर्णास्वरूपा, ब्रह्माणीस्वरूपा, सरस्वतीस्वरूपा हौ। तिमीहरूमा त्यो क्षमता छ। त्यसैले तिमीहरूलाई मैले पूजा गर्दा लक्ष्मीहरूलाई पूजा गरेको मानिन्छ। देवीस्वरूपा तिमीहरूको पूजाअर्चना गर्नाले हामी सबैको आयु लक्ष्मी वृद्धि पशुधन धान्यादि प्राप्त होस्।
साथै स्वस्थ भएर जन्मजन्मान्तर बाँचिरहनुपरोस्। हाम्रो आपसी सौहार्द तथा दीर्घताका साथै तपाईं दिदीबहिनीहरूको अखण्ड सौभाग्य पुत्रपौत्रादिसन्तति, धनधान्य ऐश्वर्य आदि जन्मजन्मान्तरसम्म रहिरहोस्। धर्मराजका कृपाप्रसादले कहिल्यै नाश नहुने अटूट सम्बन्ध रहोस् भन्ने कामना गर्दछु)
परिचय
सांस्कृतिक महान पर्व यमपञ्चक कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। यमपञ्चकलाई तिहार शब्द हिन्दी शब्दको 'त्योहार' शब्दबाट विकृत हुँदै तिहार बनेको हो। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ।
यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको छ। त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ। यमपञ्चकमा क्रमश काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी यमपञ्चक मनाउने गरिन्छ।
पौराणिकतामा सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा शास्त्रमा उल्लेख गरिएको छ। रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई 'जे मन लाग्छ वर माग' भन्दा यमुनाले 'हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्' भन्ने वरदान मागिन्।
यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको छ। यमपञ्चकले मानव तथा पशुबीचको र दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई छर्लङ्ग पार्दछ।
यमपञ्चक बेलायतमा धूमधामले मनाइन्छ। थाइल्याण्डमा तिहारलाई लाम क्रियोग्घको नामबाट, स्कटल्याण्डमा जनवरीको अन्तिम मंगलबार तिहारकै एक रुप लेर्विक, जापानमा प्रत्यक वर्षको जनवरी महिनामा जापानमा ओनियो फेयर, अमेरिकाको फ्लोरिडामा अल्टूना सहरमा प्रत्यक वर्ष अक्टाेबर ३१ देखि नोभेम्बर १ स्यामहेन र क्यानडाको न्यूफाउन्ड ल्याण्डमा नोभेम्बर ५ का दिन यमपञ्चक जस्तै एक चाड मनाइन्छ।
मृत्यु देवको भक्ति
तिहारमा मृत्युका देवता यमराज र उनका नजिक मानिएकालाई विषेश पुजा गरिन्छ। यमपञ्चकको पहिलो दिन आज यमदीप दान गरिन्छ। यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ। यमपन्चकमा काग, कुकुर, गाई, गोवर्द्धन, दाजुभाइ र दिदीबहिनीका साथै बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गरिन्छ।
काग तिहार: यमपञ्चकको काग तिहारमा कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गरिन्छ। काग अत्यन्त चतुर र चलाख पक्षी हो। काग सर्वभक्षी प्राणी हो। यसको पूजा गर्नुका विभिन्न कारण छन्। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ। काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो। त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन्।
कुकुर तिहार: यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ। यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ। कुकुर यमराजको अर्को प्रियभक्त हो। कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ।
कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मनपर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं।
गाईतिहार र लक्ष्मी पूजा: गाईतिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ। गाईलाई पशुधनका रूपमा लिइन्छ। हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन्।
गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ। लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ। कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ।
गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।
गोरु तिहार: हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो। विश्वासअनुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे। गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए।
कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ।
आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन्। भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो।
भाइतिहार: भाइतिहार (भाइ टीका) तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ।
रोचक तथ्यमा यमपञ्चक
यमपञ्चक सङ्ग जोडिएका रोचक तथ्यहरू पनी छन। हिरण्यकशिपुको वध यसै दिन विष्णु भगवानले गरेको बताइन्छ। लक्ष्मी र धन्वन्तरी प्रकट यसै दिन दिन समुद्रमंथनपछि लक्ष्मी र धन्वंतरि प्रकट भएको भनिन्छ। वर्द्धमान महावीर स्वामीको निर्वाण दिवस जैन धर्माबलम्वी अनुसार चौबिसौँ तीर्थकर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीको दिनमा पर्छ।
अमृतसरको स्वर्ण मन्दिरको शिलान्यास सिक्खहरूको निम्ति पनि यो दिन महत्त्वपूर्ण छ किन कि यसै दिन अमृतसरमा सन् १५७७ मा स्वर्ण मन्दिरको शिलान्यास भएको थियो। नेपाल संवत यसदिन नेपाली सालको नयाँ वर्ष सुरु हुन्छ। मुगल वंशका अंतिम सम्राट बहादुर शाह जफर पनि दीपावली मनाउँथे र यस अवसरमा आयोजित कार्यक्रमहरूमा उनी भाग लिन्थे।
शाह आलम द्वितीयको समयमा शाही महललाई दीपावलीमा दीपहरूले सजाइन्थ्यो एवं लालकिलामा आयोजित कार्यक्रमहरूमा हिन्दू-मुसलमान दुवै धर्मावलम्वीहरूले भाग लिन्थे। पञ्जाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु दुवै दीपावलीको दिन भएको थियो।
महर्षि दयानन्द सरस्वतीले भारतीय संस्कृतिका महान जननायक बनेर दीपावलीकै दिन अजमेरको छेउमा देहत्याग गरेका थिए। दीन-ए-इलाहीका प्रवर्तक मुगल सम्राट अकबरको शासनकालमा राजकोष भण्डारको सामु ४० गज अग्लो बाँसमा एउटा आकाशदीप दीपावलीका दिन लगाइन्थ्यो। बादशाह जहाँगीरले पनि दीपावली धूमधामसित मनाउँथे।
भगवान राम र बलिराजामा भोसो, देउसी र भैलो
बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती पनि छ। वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे। उनी दानी राजाका रुपमा कहलिएका थिए जसका कारण देवतामा समेत त्रास फैलिएको थियो।
भगवान विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरीक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामन पुराणमा वर्णन गरिएको छ।
विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ। सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको छ। यही मान्यताका कारण आजकाल पनि देउसीभैलो खेल्दा ‘हामी त्यसै आएनौँ बलि राजाले पठाए’ भनी भट्याउने गर्छन्।
लक्ष्मीपूजाका दिनमा भैलो र गोवर्द्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ। भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ। अर्को प्रसंगमा अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजाको आगमनमा खुसीयाली मनाएका थिए। श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए।
कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जगमगाएको थियो। मानिसहरूले घर-घरमा, गल्ली-गल्लीमा 'देव श्रीराम' (हाम्रा राम देउता हुन्) को नारा लाउँदै घुमेका थिए। देव श्रीरामबाट विकृत हुँदै 'देउसिरी राम, देउसिरे ,देउसी' भएको अनुमान गरिन्छ सोही परम्परालाई आजपनि देउसी खेल्दै हिँड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन।
अन्त
विश्वका सबै संस्कृतिमा मृत्युका देवताप्रति सर्मपण, जन्मको आगमन, अन्धकारवाट उज्यालो अन्मुख र दाजु भाइ र दिदीबहिनीबीचको सामीप्यतालाई उजागर गर्ने पर्व नै यमपञ्चक हो। हाल यो हिन्दु संस्कारमा मात्र सीमित हुनु दुखको विषय छ।
सबै संस्कृतिमा रहेको तिहारलाई फूलमाला र उज्यालो पर्वको पर्वको रुपमा लिई मृत्युका देवताको पुजा गरिन्छ। यमपञ्चक सांस्कृतिक सौन्दर्यभित्रको सामाजिक र वैज्ञानिक पक्षसहित उज्यालोको पर्व हो। यसको महत्व र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्छ।