के अब आप्रवासीहरु अमेरिकाबाट ‘डिपोर्ट’ हुन्छन्?

Break n Links
Break n Links

डोनाल्ड ट्रम्प राष्ट्रपतिको चुनावमा विजय हुनेबित्तिकै पुन: एकपटक गैरकानुनी रुपले अमेरिकामा रहेका आप्रवासीहरुलाई उनीहरुकै देशमा फर्काउने अर्थात् डिपोर्ट गर्ने प्रकरण चर्चामा आएको छ।

आफ्नो पहिलो कार्यकालमा पनि यो मुद्दालाई आक्रामक रुपले लिएका नवनियुक्त राष्ट्रपति ट्रम्पको यो अभियान अझै सशक्त रुपले अगाडि बढ्छ भन्ने अहिले नै यसै भन्न नसकिए पनि अवैध रुपले अमेरिका आउने आप्रवासीको मुद्दालाई आफ्नो चुनावी एजेण्डामा प्रमुख रुपले उल्लेख गरेकोकारण यो प्रकरणले कुनै न कुनै रुपले आफ्नो आकार लिने कुरा भने निश्चित छ।

नवनियुक्त उपराष्ट्रपति जेडी भेन्सले पनि समाचार संस्था रोयटर्सलाई सेना, सरकारी एजेन्सी र सम्बन्धित देशका कूटनैतिक नियोगहरुको सहयोगमा हरेक वर्ष कम्तिमा १० लाख गैरकानुनी आप्रवासीहरुलाई डिपोर्ट गर्ने आफ्नो सरकारको नीति भएको बताएका छन्। यद्यपि यो मुद्दा सधैँ विवादकै रुपमा रहेको छ।

भेन्सको यो विचार लगतै आप्रवासी अधिवक्ता रमानव अधिकारवादीहरुले यो नीति लागू गर्दा आइपर्ने सम्भावित मानवीय र कानुनी बाधाहरुको बारेमा एकपटक गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दै ट्र्म्पको यो प्रयास महँगो, विभाजनकारी र अमानवीय हुने बताउँदै धेरैको परिवारमा बिछोड हुने र कुनै कुनै समुदायको अस्तित्व नै खतरामा पर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकी सरकारको तथ्याङ्कअनुसार हाल अमेरिकामा करिब एक करोड ३० लाख गैरकानुनी आप्रवासीहरु रहेका छन्। यिनीहरु सबैलाई करिब १३ वर्षमा डिपोर्ट गर्न करिब एक ट्रिलियन अमेरिकी डलर खर्च हुने गैरकानुनी आप्रवासीहरुको हक हितमा काम गर्दै आएको अमेरिकन सिविल लिबर्टीज यूनियन (एसीएलयु) ले बताएको छ। ट्रम्प प्रसाशनको विरुद्ध कानुनी उपचारमा जान आफ्नो सबै संयन्त्रलाई तयार राखेकाे बताएको छ।

एसीएलयुका प्रमुख कानुनी सल्लाहकार ली गेलर्नटका अनुसार सङ्घठनको राष्ट्रिय कार्यालयको साथै गैरकानुनी आप्रवासीहरुको हकहितको लागि कार्य गर्दै आएका १५ कानुनी जानकारहरुले ट्र्म्पको सम्भावित आगमनलाई मध्यनजर गर्दै करिब एक वर्षदेखि यो विषयमा गृहकार्य गर्दै आएको र आफूहरु यो विषयलाई कानुनी रुपले चुनौती दिन सक्षम भएको बताएका छन्।

उनी भन्छन्, ‘हामीलाई अधिक साधन, स्रोत र तयारीको आवश्यकता छ, किनकि ट्रम्प पनि पहिलेभन्दा ठुलै तयारी गरेर आएका हुन सक्छन्।’

ट्र्म्पले हरेक वर्ष कम्तिमा १० लाख गैरकानुनी आप्रवासीहरुलाई डिपोर्ट गर्न सक्छन् वा सक्दैनन्, त्यो भविष्यको गर्भमै रहे पनि उनलाई यो कार्य गर्न निकै कठिनाईको सामना गर्नुपर्नेमा भने दुईमत छैन।

अन्तमा, डेमोक्र्याटिक पार्टीले जितेमा घर घरमै आएर ‘ग्रिनकार्ड’ दिन्छ र रिपब्लिकन पार्टीले जितेमा भोलि बिहानै अमेरिकाबाट घोक्राउँछ भन्ने जस्तो आधारहीन हल्लाको पछाडि नलाग्न सम्बन्धित सम्पूर्ण नेपाली समुदायप्रति पंक्तिकार आग्रह गर्छ।

प्रकाशित मिति: : 2024-11-08 16:50:00

प्रतिकृया दिनुहोस्