पूर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुर्व्यसनीमा लाग्ने युवाहरुको विशाल सञ्जाल रहेको उल्लेख गर्दै त्यस सञ्जाललाई समाप्त पानुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुर्व्यसनीमा संलग्न सञ्जालले नयाँ पुस्तालाई प्रभाव पार्न, समाजलाई खतम पार्न र अपराधिक क्रियाकलापलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै यसलाई निर्मूल पार्न सबैले भूमिका खेल्न आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘नेपालमा समेत दुर्व्यसनी र दुर्व्यसनमा लाग्नेहरुको एउटा सञ्जाल देखिएको छ। त्यो सञ्जाललाई पुरै रुपमा हामीले समाप्त पार्नुपर्छ। नसकिने कुरा केही पनि छैन। सबै युवाहरुले आफ्नो ठाउँबाट इमानदार भएर लाग्नुभयो भने नसकिने कुरा हुँदैन। त्यस्ता दुर्व्यसनीहरुलाई जेल कोच्न सकिन्छ। त्यस्ता अपराधीहरुलाई कसैले पनि संरक्षण गर्ने होइन। नयाँ पुस्तामा प्रभाव पार्न, नेपाली समाजलाई खतम पार्न र पैसाको लोभमा अत्यन्त अपराधिक क्रियाकलापहरु संलग्न हुने अपराधीहरुलाई छुट दिने, सहानुभति व्यक्त गर्ने उन्मुक्ति दिने काम गर्नु हुँदैन।’
अहिलेका युवा तथा विद्यार्थीहरुले देशलाई अथाह माया गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ। पछिल्लो समयका युवाहरुमा अध्ययनशीलताको कमि रहेको उल्लेख गर्दै उनले मान्छेलाई योग्य र सक्षम बनाउनका लागि अध्ययनको आवश्यकता पर्ने बताए।
दुर्व्यसनका कारण संसार नै सखाप हुने स्थिति सिर्जना भइरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष नेपालले युवाहरुलाई नराम्रो संगत गर्न नहुन सुझाए।
‘अहिले युवा र विद्यार्थीहरुले सबैभन्दा बढी देशलाई माया गर्नुस्। देश र देशबासीलाई माया गर्नुभयो भने मात्र तपाईंको जीवन सार्थक हुन सक्दछ। ज्ञान र चेतना बढाउनका लागि प्रयाप्त अध्ययनको आवश्यकता पर्दछ। मान्छेलाई योग्य र सक्षम बनाउनका लागि पनि अध्ययनको आवश्यकता पर्दछ। मेहेनतले नै हामीलाई सफलताको शिखरमा पुर्याउन सकिन्छ। जीवनमा आएका चुनौतीहरुलाई चिरेर अगाडि बढ्न सकियो भने संसारमा गर्न नसकिने चिज संसारमा केही पनि छैन। घरको जग बलियो भयो भने मात्र सिंगो घर बलियो हुन्छ भनेझै सानैबाट राम्रो मेहेनत गरेमात्र भोलिको भविष्य सुन्दर छ। त्यसैले आजैदेखि श्रम गरेर सज्जनको संगत गरेर अगाडि बढ्नुहोस्। नराम्रो बानि व्यहोरा विकास नगर्नुस्। दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छ,’ उनको भनाइ छ।