त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दकाे राजीनामा फिर्ता भएकाे छ।
प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालले डीआईजी चन्दको राजीनामा रितपूर्ण नभएको भन्दै फिर्ता गरिदिएको हाे।
चन्दले व्यक्तिगत कारण देखाउँदै गत शुक्रबार राजीनामा दिएका थिए। उनकाे राजीनामा शनिबार सार्वजनिक भएकाे थियाे।
उनकाे राजीनामा पत्र आइतबार मात्रै प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो। सोमबार हेडक्वार्टरका प्रहरी अधिकारीहरूले चन्दलाई राजीनामा नदिन सुझाएका थिए।
प्रहरी प्रधान कार्यालयले चन्दको बिदा भने स्वीकृत गरेको छ। कार्यालयले उनलाई १० दिन बिदा बसेर आउन भनेकाे छ।
चन्दले वैशाख १३ गते विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए। उनको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो। उनले त्यसअघि नै राजीनामा दिएका हुन्।
यही माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच कुटाकुट भएको थियो। उक्त घटनाको छानबिन गर्न सरकारले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति गठन गरेको थियो।
गठित समितिले दुई जना प्रहरी जवानलाई विभागीय कारबाही गर्न सिफारिस गरेकाे थियाे। समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको बताइएकाे छ।
आफ्नो राजीनामाकाे कारण व्यक्तिगत बताएपनि चन्दले आफू मातहका प्रहरी अधिकारीलाई विना गल्ती कारबाहीका लागि सिफारिस गरिएकाे भन्दै छानबिन समितिकाे प्रतिवेदनमाथि प्रश्न उठाएका थिए।
अध्यागमन कर्मचारीकाे विराेध प्रदर्शनपछि उक्त कुटपिट प्रकरणमा प्रहरीलाई दाेषी देखाउन खाेजिएकाे भन्दै उनले प्रहरी प्रधान कार्यालयमा समेत असन्तुष्ट पाेखेका थिए।