त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन्।
डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
उनले शुक्रबार प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएकाे बताए। तर कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी नआएको बताएको छ।
वैशाख १३ गते विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका उनले सेवा अवधि नसकिँदै राजीनामा दिएका हुन्।
यही माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच कुटाकुट भएको थियो। उक्त घटनाको छानबिन गर्न सरकारले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति गठन गरेको थियो।
गठित समितिले दुई जना प्रहरी जवानलाई विभागीय कारबाही गर्न सिफारिस गरेकाे थियाे। समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको बताइएकाे छ।
आफ्नो राजीनामाकाे कारण व्यक्तिगत बताएपनि चन्दले आफू मातहका प्रहरी अधिकारीलाई विना गल्ती कारबाहीका लागि सिफारिस गरिएकाे भन्दै छानबिन समितिकाे प्रतिवेदनमाथि प्रश्न उठाएका थिए।
अध्यागमन कर्मचारीकाे विराेध प्रदर्शनपछि उक्त कुटपिट प्रकरणमा प्रहरीलाई दाेषी देखाउन खाेजिएकाे भन्दै उनले प्रहरी प्रधान कार्यालयमा असन्तुष्ट पाेखेका थिए।