सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने कार्य अलोकतान्त्रिक छ- राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सडकमा उत्रिएका नागरिकमाथि प्रशासनले दमन गर्नु अलाेकतान्त्रिक भएकाे भन्दै खेद प्रकट गरेकाे छ। राप्रपाले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दु:खद भएकाे बताएकाे हाे।

‘आफ्ना मागहरु लिएर सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने, प्रदर्शनस्थलमा पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा कब्जा जमाउने, घर-घरमा पुगेर व्यक्ति व्यक्तिलाई पक्राउ गर्ने, सडकपेटीमा हिँडिरहेका नागरिकलाई बिनाकारण जथाभावी गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक छ,’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेकाे छ।

राप्रपाले दमन र धरपकड समस्याको समाधान नभएकाे भन्दै यस्ता अलोकतान्त्रिक गतिविधि तत्काल रोक्न एवम् संविधान र प्रचलित कानुनले नागरिकलाई प्रदान गरेको अधिकारको रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएकाे छ।

राप्रपाले पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई बिनासर्त रिहाइकाे माग गरेकाे छ।

प्रहरीले दुर्गा प्रसाईं नेतृत्वकाे राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानकाे आन्दाेलनमा सहभागी राप्रपाका केही कार्यकर्तलाई बल्खु र तीनकुनेबाट पक्राउ गरेकाे छ।

प्रेस विज्ञप्ति

संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि भएको प्रशासनिक दमन, धरपकडको राप्रपा निन्दा एवं भत्सर्ना गर्दछ । प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दु:खद, आपत्तिजनक र विडम्बनापूर्ण छ।

आफ्ना मागहरु लिएर सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने, प्रदर्शनस्थलमा पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा कब्जा जमाउने, घर घरमा पुगेर व्यक्ति व्यक्तिलाई पक्राउ गर्ने, सडकपेटीमा हिडिरहेका नागरिकलाई बिना कारण जथाभावी गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक छ।

यस्ता गतिविधि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित छ।

दमन र धरपकड समस्याको समाधान होइन र हुनै सक्दैन । यस्ता अलोकतान्त्रिक गतिविधि तत्काल रोक्न एवं संविधान र प्रचलित कानुनले नागरिकलाई प्रदान गरेको अधिकारको रक्षाका लागि राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउॅदछ।

साथै, गिरफ्तार गरिएका सबैको बिना शर्त अविलम्ब रिहाइ गर्न राप्रपा सरकारसंग माग गर्दछ।


मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख
राष्ट्रिय प्रजातन्त्र पार्टी

८ मंसिर, २०८०

प्रकाशित मिति: : 2023-11-24 18:16:00

प्रतिकृया दिनुहोस्