बागमती प्रदेश सरकारले भूकम्प प्रभावितलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

बागमती प्रदेश सरकारले भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकाे छ।

भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि बागमती प्रदेश सरकारतर्फबाट १ करोड ५० लाख कर्णाली सरकारमार्फत उपलब्ध गराउने निर्णय गरेको हाे।

शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन्।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई विपद्को घडीमा आवश्यक सहयोग गर्नसमेत आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यस विपद्को घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारसँगै रहनेछ।’

भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम जिल्लामा जनधनको क्षति पुगेकामा बागमती प्रदेश सरकारले दुःख व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त भूकम्पबाट ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’

प्रकाशित मिति: : 2023-11-04 11:38:00

प्रतिकृया दिनुहोस्