संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापना र जलवायु परिवर्तनसँग जुध्नका लागि नेपालबाट पाठ सिक्न विश्वका अरु राष्ट्रहरूलाई आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेका गुटेरेसले मंगलबार संघीय संसदका दुबै सदनलाई संयुक्त सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।
‘शान्ति स्थापनाको आफ्नै मौलिक तरिका अपनाएर अनि जलवायु परिवर्तनका विरुद्ध शक्ति राष्ट्रहरूका बीचमा नेपाल कसरी जुधिरहेको छ भन्ने कुरा अरु विश्वलाई पनि ठूलो पाठ हो’, उनले भने, ‘विभिन्न शक्ति राष्ट्रहरूको भूराजनीतिक परिस्थितिमा पनि संघर्ष गरिरहेको नेपालबाट विश्वका अरु राष्ट्रहरूले पनि पाठ सिक्न जरुरी छ। यो एउटा त्यस्तो राष्ट्र हो, जसले आफ्नै मौलिकताको शान्ति प्रक्रिया र जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग आफ्नै प्रकारको संघर्ष गरिरहेको छ।’
उनले आफैँ पनि नेपालका हिमालय क्षेत्रमा पुगेर त्यहाँको भयावह स्थितिको साक्षी भएको भन्दै पग्लिरहेका हिमालय र सकिँदै गएको हिउँ विश्व जलवायु संकटको निकै भयानक चेतावनी भएको पनि बताए।
‘त्यसको म आफैँ साक्षी भएको छु। विश्वव्यापी जलवायु संकटको भयावह हेर्नका लागि म विश्वलाई नेपालका हिमालयहरू हेर्न अपिल गर्दछु’, उनले भने, ‘नेपालजस्तो जलवायु परिवर्तनका लागि एकदमै न्यून योगदान रहेको राष्ट्रले विश्वका अरु शक्ति राष्ट्रहरूका कारण यस्तो भयावह स्थिति भोग्नुपरिहरेको छ। नेपालका हिमालयले हिउँ गुमाइरहेका छन्।’
उनले जलवायु परिवर्तनको प्रभाव खेपिरहेको नेपाललाई विश्वका अरु राष्ट्रहरूले जलवायु कोष उपलब्ध गराउनुपर्ने र त्यसका लागि संयुक्त राष्ट्र संघले पनि विश्वव्यापी पहल गर्ने प्रतिवद्धता जनाए।
‘यहाँको जनजीवन र जीविकोपार्जन विश्वव्यापी जलवायु परिवर्तनका कारण कसरी संकटमा परिरहेको छ भन्ने कुरा नेपालमा देख्न सकिन्छ’ उनले भने ‘म नेपालले जलवायु संकटसँग बच्नका लागि गरिरहेको संघर्षलाई सघाउन र विश्वलाई सहयोगका लागि अपिल गर्दछु।’
उनले नेपालको शान्ति प्रक्रियालाई संयुक्त राष्ट्रसंघले नजिकबाट नियालिरहेको र त्यसका लागि सधैँ साथमा रहेको भन्दै नेपालको मौलिक प्रक्रिया प्रशंसायोग्य भएको पनि बताए।
‘अब संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याएर नेपाल शान्ति प्रक्रियालाई टुङ्ग्याउने प्रक्रियामा छ। त्यसका लागि संयुक्त राष्ट्रसंघ सधैँ नेपालको साथमा छ र हामी यहाँका राजनीतिक नेतृत्वले शान्ति प्रक्रियामा निभाएको भूमिकाको प्रशंसा गर्दछौँ’, उनले भने, ‘यो विश्वको यस्तो एउटा देश हो जसले विश्वका शक्ति राष्ट्रहरूको संघर्षका बीच विश्व शान्तिका लागि शान्ति सैनिक खटाएर संयुक्त राष्ट्रसंघलाई अभूतपूर्व योगदान पुर्याएको छ।’