फोटो पत्रकार केशवराज थोकरले तयार गरेको फोटो पुस्तक सार्वजनिक भएको छ। सभामुख देवराज घिमिरेले उनको फोटो किताब ‘लाइफ इन पेन्डामिक’ सार्वजनिक गरेका हुन्।
फोटो पुस्तक सार्वजनिक गर्दै सभामुख घिमिरेले कोरोनाको विषयमा फोटोको माध्यमबाट इतिहासको दस्तावेजीकरण भएको बताए।
विभिन्न समय र कालखण्डमा यस्ता भवितव्य घटनाहरू हुने भएकाले यसलाई फोटो पत्रकारिताले इतिहास सम्झाउने काम गरेको सभामुख घिमिरेको भनाइ थियो।
लाइफ इन पेन्डामिक विपत्तिको इतिहास सम्झाउने पुस्तक भएकाले विश्वमा संग्रहनीय फोटो पुस्तक हुने सभामुख घिमिरेको विश्वास थियो।
दुई दशकदेखि फोटो पत्रकारितामा क्रियाशील थोकरले कोरोनाको समयमा काठमाडौँको लाइफ लाइन, अनुभव गरेका, फ्रन्टलाएन हुँदै जीवन र मृत्युको संघर्ष गरिरहेका र संवेदनाले भरिएको परिदृश्यलाई फोटोको माध्यमबाट दस्तावेजिकरण गरेका हुन्।
सात सिरिजमा विभाजन गरिएको उक्त फोटो पुस्तकमा आफ्नै श्रीमती साङमो योञ्जन गर्भवती हुँदा १६ दिनको होम आइसोलेसन बस्नुपर्दाको क्षण, फ्रन्ट लाइनका डक्टर शेरबहादुर पुन, नर्स र सरकारले कोरोना नियन्त्रणका लागि गरेका प्रयासहरु फोटो पुस्तकमा समावेश गरिएको छ।
सो पुस्तक सार्वजनिक समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नागरिक दैनिकका प्रधान सम्पादक गुनराज लुइटेल, पिजे क्लबका निवर्तमान अध्यक्ष विकास कार्की, वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलगायतले मन्तव्य राखेका थिए।
फोटो पुस्तक म्हेन्दो ट्रष्टले प्रकाशन गरेको हो। भाषा आयोगका सदस्य तथा म्हेन्दो ट्रष्टका उपाध्यक्ष अमृत योञ्जनको अध्यक्षतामा पुस्तक सार्वजनिक कार्यक्रम भएको थियो।