जनतालाई गुणस्तरीय सेवासुविधा दिन सक्नुपर्छ : प्रधानमन्त्री दाहाल

बिएल संवाददाता

सुदूरपश्चिम
फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई गुणस्तरीय सेवासुविधा दिनसक्नुपर्नेमा जोड दिएका छन्। 

कैलालीको मध्य क्षेत्रमा रहेको गौरीगङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सुविधायुक्त भवन निर्माण भएपछि यसबाट जनतालाई पनि गुणस्तरीय सेवासुविधा दिने कुरामा ध्यान दिन आग्रह गरेका छन्। 

सुदूरपश्चिमको विकासमा आफूले विषेश प्राथमिकता दिएको उल्लेख गर्दै उनले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउन, अनुदानमा महाकाली नदीमा पुल बनाउन, राजमार्ग निर्माण गर्नेलगायतका विकासका काममा प्राथमिकता दिएको बताए। 

उनले नगरपालिकामा चक्रपथ निर्माणका साथै नदी कटान रोकथाममा सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रममा सोही क्षेत्र (कैलाली–४)बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरले नदी कटान रोकथाम र गोदावरीमा प्रदेशको राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। 

नगरपालिकाको– १ मा नवनिर्मित अत्याधुनिक प्रशासकीय भवन नगरपालिका र नेपाल सरकारको रु छ करोड ८६ हजारको लागतमा निर्माण पूरा भएको नगरप्रमुख देवीदत्त कँडेलले जानकारी दिए। हालै निर्माण पूरा भएको यो तीनतले भवनमा २४ कोठा छन्।

प्रकाशित मिति: : 2023-10-16 19:58:00

प्रतिकृया दिनुहोस्