ओलीको दाबीः एमालेको विकल्प छैन

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा र देश विकासका लागि एमालेको विकल्प कोही हुन नसक्ने दाबी गरेका छन्।

एमाले मधेस प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सुरु गरेको सामाजिक सुरक्षा नीतिले नै असहाय, ज्येष्ठ नागरिक, घरबारविहीन नेपालीले राज्य भएको अनुभूति गर्न पाएको दाबीसमेत गरेका छन्।

'एमालेले नै कमजोर, असहाय, ज्येष्ठ नागरिक, सडकमा जीवन बिताउने नागरिकदेखि बालिकाको आत्मसम्मानका लागि सहुलियतको अभियान अगाडि बढाएको हो। एमालेले नै विकासका लागि सडक, बाटोघाटो, स्वास्थ्य, शिक्षा, उद्यमशीलतालगायत विकासको जग बसाल्दै देशलाई रेल युगमा प्रवेश गराएको हो,' अध्यक्ष ओलीले भने।

नेता ओलीले विसं २०७४ को चुनावपछिका तीनवर्ष आफू नेतृत्वको सरकारले गरेका कामको गति देखेर धेरैलाई जलन भएको आरोप लगाएका छन्। देशको विकासका लागि आगामी चुनावमा वडा तहदेखि नै पार्टीको कम्तीमा ५१ प्रतिशत सिटका लागि अहिलेदेखि नै एकताबद्ध भएर लाग्न आम नेता तथा कार्यकर्तालाई उनले आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2023-10-11 21:16:00

प्रतिकृया दिनुहोस्