सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदै छ। वार्ता बिहान ९ बजे सुरु गर्ने तयारी छ।
विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक प्रतिनिधिहरूसँग बिहीबारको वार्ता निष्कर्षबिहीन भएको थियो।
बिहीबार बेलुका फेरि गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राईका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ सहित ती मन्त्रालयका सचिवहरुसहित शिक्षकका प्रतिनिधिहरुसँग छलफल भएको थियो।
साँझ ७ बजेदेखि सुरु भएको छलफल बेलुका साढे ९ बजेसम्म चलेको थियो।
कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाश शरण महत पनि वार्तामा सहभागी थिए।
शिक्षक महासङ्घ र सरकारका बीच बिहीबार बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन।
विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्। उनीहरुको मुख्य सरोकार आफूहरुको सरुवा, बढुवा र कारबाहीको अधिकार स्थानीय तहलाई दिन हुँदैन भन्ने छ।