पशुपति क्षेत्रमा यस्तो छ ट्राफिक, कुन-कुन सडक बन्द छन्?

Break n Links
Break n Links

महाशिवरात्रि पर्वमा पाशुपत क्षेत्रमा अत्यधिक भीडभाड हुने गर्छ। बिहान २ बजेदेखि नै पशुपति मूल मन्दिरका चारै ढोकाहरू खुल्छन्। आज राति अबेरसम्मै पशुपतिमा पूजाआजा हुन्छ र आम भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न व्यवस्थाहरू मिलाएको छ। 

यो भीडभाडले पूरै काठमाडौं उपत्यकाको ट्राफिक पनि अस्तव्यस्त हुन्छ। भिडभाडलाई सुरक्षित तथा व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना लागु गरेको छ। 

कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमाण्ड सेन्टर राखी ८ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ। ट्राफिक कार्यालयहरू यो क्षेत्रमा पार्किङ गर्न मिल्ने र बन्द गरिएका सडकहरूका बारेमा पनि जानकारी गराएको छ। 

पशुपतिमा पुग्ने दर्शनार्थीका सवारी साधनको पार्किङ्ग तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुनेछन्। त्यसैगरि कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ।

कार्यालयका अनुसार तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई सञ्चालनमा रोक लगाइएको छ। 
दर्शनार्थीहरूकै भिडभाडका कारण तिलगंगा, चावहिल, मित्रपार्क, पुरानोबानेश्वर र रातोपुलमा सवारी साधन केही क्युमा चलिरहेका छन्। क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ। 

सवारी साधन लिएर दर्शन गर्न मन्दिर जाने दर्शनार्थीहरूको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ। बनकाली, भन्डारखाल, तिलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा पार्किङको व्यवस्था मिलाइएको हो। बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने दर्शनार्थीको सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ। 

त्यस्तै दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरुको लागि बनकाली क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ। त्यसैगरी पशुपती क्षेत्र विकाश कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ। 
 

प्रकाशित मिति: : 2025-02-26 08:31:00

प्रतिकृया दिनुहोस्