सिन्धुपाल्चोक र गोरमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए।
ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ।
यस्तै गोरखाको सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको छ।
अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग१ख ९७३६ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ग७प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पुर्याइएको थियो।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।