आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन्। चेपाङ समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ। बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनामका अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ।
हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो।
चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेकोले तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
यस वर्ष पनि चेपाङ समुदायले सामूहिकरूपमा छोनाम पर्व मनाउँदै छन्। शुक्रबार सामूहिकरूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिए। उनले सामूहिक उत्सवको सबै तयारी गरिएको बताएका छन्।
उनका अनुसार चितवन, धादिङ, मकवानपुर र गोरखाका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वागी मनाउँदैछन्। विगत आठ वर्षदेखि चेपाङ समुदायले चेपाङ सङ्घको पहलमा सामूहिकरूपमा न्वागी मनाउँदै आएका छन्। 'चेपाङ सङ्घको तर्फबाट उत्सवका रूपमा सामूहिकरूपमा पर्व मनाउन लागिएको हो,' उनले भने, 'उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ।' उनले सरकारले सार्वजनिक बिदा दिन थालेपछि छोनाम पर्वमा थप उत्साह बढेको बताएका छन्।
उनका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ। यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ। यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए।
वर्ष दिनमा कम्तीमा नौ महिना जङ्गली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए। उनका अनुसार भिरपाखामा बस्ने चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम पर्व मनाउने गरिएको इतिहास छ।
छोनाममा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन्। नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन्।