एकजना क्षेत्रीय निर्देशक चुन्नका लागि अहिले भारतसामु ‘धर्मसंकट’ पैदा भएको छ। विश्व स्वास्थ्य संगठनमा क्षेत्रीय निर्देशकका लागि नेपाल र बंगलादेशले आआफ्ना उम्मेदवार खडा गरेका छन्।
यो स्थितिमा अब भारतलाई दुई छिमेकीमध्य कसलाई चुन्ने भन्ने निर्णयको संकट छ।
भारतमा यतिबेला जी-२० सम्मेलनबाहेक यसबारेमा पनि व्यापक चर्चा हुन थालेको छ। भारतले बंगलादेश र नेपाल दुवैका लागि नजिकको छिमेकी हो।
नेपालले यसअघि नै यो पदका लागि डा. सम्भुप्रसाद आचार्यलाई त्यो पदका लागि उम्मेदवारी अनुमोदन गरेर विश्व स्वास्थ्य संगठनलाई पठाइसकेको छ। त्यही पदमा बंगलादेशकी साइमा वाजेदले पनि उम्मेदवारी दिएकी छिन्। उनी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी पनि हुन्।
आगामी ३० अक्टोबरदेखि २ नोभेम्बरसम्म विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय निर्देशकका लागि गोप्य मतदान हुनेछ।
यो मतदानमा दक्षिणपूर्वी एशियाका ११ राष्ट्रका प्रतिनिधिले मतदान गर्नेछन्। भारतको नयाँ दिल्लीमा हुने यो मतदानमा जसमा बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर-लेस्टे सहभागी हुनेछन्।
सन् २०१४ देखि यो पदमा भारतीय नागरिक पुनम क्षेत्रपाल सिंह छिन्।
भारतीय अखबार द हिन्दूका अनुसार अहिलेसम्म भारतले यसबारे आफैले प्रस्ट भनेको छैन। यद्यपि नेपाल र बंगलादेश दुबैले कुटनीतिक पहल गर्दै मतको अपिल गरिसकेका छन्।
कतिपयले भारत र बंगलादेशको आपसी सम्बन्धका कारण भारतको मत बंगलादेशलाई हुने बताइरहेका छन्।
संयुक्त राष्ट्रसंघ अन्तर्गत विश्व स्वास्थ्य संगठनको यो पद क्षेत्रीय र सामरिक हिसावले निकै महत्वपूर्ण मानिन्छ। यस्तोमा आपसी सम्बन्धका आधारमा एक राष्ट्रले अर्को राष्ट्रलाई समर्थन (मत) दिने प्रचलन रहिआएको छ।
कुनै राष्ट्रले एउटा मुद्दामा अर्को राष्ट्रलाई समर्थन दिन्छ भने त्यसको बदलामा उसले पनि अर्को कुनै मुद्दाका लागि मत दिनुपर्नेहुन्छ।
हाल नेपालका डा. सम्भुप्रसाद आचार्य डब्ल्यूएचओका प्रमुख ट्रेडोस एडनोम गेब्रियसेसको मातहत हुने ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट डाइरेक्टर’का रूपमा कार्यरत छन्। उनी विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभाबाट सिधै नियुक्त भएका हुन्।
विधागत अनुभवका आधारमा आचार्य निकै बलिया उम्मेदवार हुन्। साइमा भने एक मनोविज्ञ हुन्। मनोबैज्ञानिकका रुपमा उनी बंगलादेश सरकारको सल्लाहकार पनि हुन्। कैयौ राजनीतिक अभियानमा उनले मुख्य भूमिका पनि निभएकी छिन्।
जी-२० सम्मेलनकै क्रममा हुने यो मतदानका बेला बंगलादेशकी प्रधानमन्त्री तथा आमा शेख हसिनासँगै साइमा भारत आउने कार्यक्रम पनि रहेको छ। त्यहाँ विश्व स्वास्थ्य संगठनका प्रमुख पनि आमन्त्रित छन्।
आसियान समिटमा भाग लिन अहिले इन्डोनेसियामा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद शाहवुद्दिनसँगै साइमा पनि छिन्। उनले त्यहाँ सहभागी हुन आएका म्यानमार तथा थाइल्यान्डलयायतका राष्ट्रहरूसँग पनि समर्थन जुटाइरहेकी छिन्।
आचार्य विगत ३० वर्षदेखि विश्व स्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा रही काम गर्दै आएका छन्।
आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव पनि छ।
‘दक्षिणपूर्वी एसियाअन्तर्गतका देशको प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै सम्पूर्ण जनसङ्ख्यामा देखिएको स्वास्थ्य समस्याको मुख्य कारण पत्ता लगाउँदै त्यसको निवारणमा सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छु’, डा.आचार्यले आफ्नो उम्मेदवारी स्वीकृत भएपछि भनेका थिए।
साथै उनले कोरोना महामारी, प्राकृतिक प्रकोपलगायतका विपद्बाट भविष्यमा उत्पन्न हुनसक्ने समस्या समाधानका लागि बलियो स्वास्थ्य सेवाको सुनिश्चितता उपलब्ध गराउनु पनि आफ्नो प्राथमिकता राखेका छन्।
‘विश्वव्यापीरुपमा सूचना प्रविधिका क्षेत्रमा भएको, भइरहेको नवीन विकासलाई सार्वजनिक स्वास्थ्य सेवाका क्षेत्रमा अधिकतम प्रयोग गर्दै समता र समानताका आधारमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नु मेरो उद्देश्य हुनेछ’, उनले भनेका छन्।
पाल्पादेखि जेनेभासम्म
आचार्यको जन्म पाल्पाको भुटुका गाउँमा भएको हो। उनले औपचारिक शिक्षा पाल्पाबाटै सुरु गरे। विद्यालयस्तरीय शिक्षा उनले त्यहीँ पूरा गने भने उच्च शिक्षाका लागि काठमाडौँ आए।
पाल्पाको सामान्य विद्यालयमा अध्ययन गरेर आएका आचार्यले विदेश अध्ययनसम्मको अवसर पाए। उनले अमेरिकाको इन्डियानास्थित बल स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर पूरा गरे। त्यसपछि गिलिङ्स स्कूल अफ ग्लोबल पब्लिक हेल्थ युनिभर्सिटी अफ नर्थ क्यारोलिना, अमेरिकाबाट स्वास्थ्य नीति तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरे।
आचार्यले विश्व बैंङ्कको वासिङ्गटनस्थित कार्यालय हुँदै बङ्लादेशको ढाकामा परामर्शदाताका रुपमा काम गरेका छन्।
डा. आचार्यले नेपालबाटै जनस्वास्थ्य सेवामा काम सुरु गरेका थिए। परिवार नियोजन संघ नेपालको फिल्ड डिभिजनको निर्देशकको रुपमा रहेर काम गर्दै बंगलादेशसम्म आफूलाई पुर्याए।
भारतमा कार्यरत रहेको एक वर्षमै उनी डब्लुएचओको मुख्यालय पुगे र महासचिवको मातहतमा रहेर काम गर्न थाले।
संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव बान कि मुनले १ नोभेम्बर २०१६ मा उनलाई यूएन सिस्टम स्टाफ कलेजको बोर्ड सदस्यका रुपमा दुई वर्षका लागि मनोनित गरेका थिए। उनको कार्य क्षमतालाई कदर गर्दै महासचिव एन्टोनियो गुटेरसले उनको कार्यकाल ३१ अक्टोबर २०१९ सम्मका लागि बढाएका थिए।
डा. आचार्यका स्वास्थ्य नीति र पद्धति विकास एवं अन्य सार्वजनिक स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अनुसन्धानमूलक लेखहरु प्रकाशित छन्।
विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा निर्वाचित भएमा दक्षिण तथा यो क्षेत्रमा बसोबास गर्ने झन्डै दुइ अर्ब जनताको स्वास्थ्यमा सुधार ल्याउन पाँच बुँदे रणनीति पनि उनले तयार गरेका छन्।