शङ्खमुलमा अवस्थित चैतन्य एकेडेमीले ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक राष्ट्रिय सम्मेलन गर्ने भएकाे छ। एकेडेमीले असोज १२ र १३ गते विभिन्न क्षेत्रका विज्ञको सहभागितामा १०औँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको हो।
सम्मेलनमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले निजी संस्था समृद्धिको संवाहक बन्नसक्छ भन्ने आत्मबोध गराउने सम्मेलनको उद्देश्य भएको बताए। यसैगरी एकेडेमीले समाज र देशप्रतिको उत्तरदायित्व बहन गर्दै एउटा सामाजिक अभियानका रूपमा सन् २०१४ देखि हरेक वर्ष वर्षको एकपटक राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्दै आएको जोशीले बताए।
यस्तै सम्मेलनका सभाध्यक्ष एवम् पूर्वमुख्यसचिव डा. विमल कोइरालाले यस सम्मेलनले सरकारका विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे।
संस्थाले कसरी देशलाई समृद्धिका तर्फ लैजान सक्छ भन्ने बताउँदै सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन प्रस्तावित दुई दिवसीय सेमिनारले सहयोग पुर्याउने संस्थाको उद्देश्य रहेको बताए।
‘समृद्धिको अभिष्ट बोकेर अघि बढेको नेपाल सरकारले लिएको लक्ष्यलाई हामीले पनि साथ दिनुपर्छ, जसका लागि यस संस्था नितरन्तर साथ दिइरहेको छ,’ उनले भने, ‘त्यसैले यस सेमिनारको मुख्य उद्देश्य मानव विकास र राष्ट्रिय विकास रहेको छ।’
यस्तै उनले सम्मेलनले लोकतन्त्रको लाभांश कसरी जनतामा पुर्याउने, शिक्षा, स्वास्थ्य तथा दिगो विकास गर्ने, शासन व्यवस्थामा सुधार कसरी गर्ने सोचका साथ यो सम्मेलन आयोजना भएको बताए।
दुई दिनसम्म काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सञ्चालन हुने उक्त सम्मेलनमा अर्थव्यवस्था, राजनीतिज्ञ, शिक्षा र स्वास्थ्य, सांस्कृतिक र शासकीयलगायत सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता हुनेछ। सम्मेलनले नेपालको चौतर्फी रूपान्तरणसँग सम्बन्धित आयाम पहिचान गर्ने उनको भनाइ छ।
यसका साथै यही सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलाई एक लाख राशीको ‘सुशासन प्रवर्द्धन र प्रशासन सुधार पुरस्कार’समेत प्रदान गरिने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले बताए।