नेपालको पर्यटकीय सम्भावना उजागर गरी बढीभन्दा बढी बङ्गलादेशी नागरिकलाई आकर्षण गर्ने उद्देश्यले बङ्गलादेशमा नेपाल प्रवर्धन गरिएको छ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरसँगको सहकार्यमा ‘क्रस बोर्डर टुरिजम विथ नेइबर’ नामक पर्यटन प्रवर्द्धनात्मक कार्यक्र गरेको हो।
बङ्गलादेश टुरिज्म बोर्ड, बङ्गलादेश पर्यटन कर्पोरेशन र पर्यटनसँग सम्बन्धित सबै सङ्घसंस्थाको सहकार्यमा यही भदौ नौदेखि १३ सम्म बङ्गलादेशको राजधानी ढाका र कोक्स बजारमा पर्यटन प्रवर्द्धननात्मक कार्यक्रम आयोजना गरिएको पाटा नेपालले आज विज्ञप्तिमार्फत जनाएको छ।
छिमेकी देशबीचको अन्तरदेशीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका सार्वजनिक र निजी पर्यटन क्षेत्रका सरोकारवाला गरी करीब दुई सय ५० को सहभागिता थियो। उक्त कार्यक्रम पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष शाहिद हमिदको निमन्त्रणामा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुति चन्द ठाकुरको नेतृत्वमा १३ नेपाली पर्यटन प्रतिनिधि र भारतको सिलिगुरी अवस्थित हिमालयन हस्पिट्यालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्क (एचएचटीडीएन) का महासचिव सम्राट सन्यालको नेतृत्वमा १६ जना भारतीय पर्यटन व्यवसायीले विदेशी प्रतिनिधिको रूपमा सहभागीता जनाएका थिए।
यस पाँच दिने परिचयात्मक भ्रमण एवं पर्यटन ब्यापार आदानप्रदान कार्यक्रमको उद्घाटन बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एवं महबुब अलीले गरेका थिए। कार्यक्रममा विदेशी प्रतिनिधिका लागि बङ्गलादेशको रमणीय एवं आकर्षक पर्यटकीय गन्तब्य तथा प्रोडक्टको परिचयात्मक भ्रमणसहित विदेशी प्रतिनिधि र स्थानीय पर्यटन उद्यमी तथा सरोकारवालाबीच बङ्गलादेशको ढाका र कक्स बजारमा बीटुबी आदानप्रदान सत्रसमेत आयोजना गरिएको थियो।
क्रसबोर्डर तथा क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्नका लागि आवश्यक यात्रा औपचारिकतालाई सरल बनाउनुपर्ने र अन्तरदेशीय पर्यटक प्रवर्द्धनका उपायहरुलाई आ–आफ्नो व्यवसायमा एकीकृत यात्रा प्याकेजको रुपमा प्रवर्द्धन गर्नेजस्ता अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको गिथो।