पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन मेरो उम्मेदवारी: हरि रिजाल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता हरि रिजालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रदेशको नेतृत्वमा दावी गरेको बताएका छन्।

भदौ १६ र १७ गते हुने प्रथम प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता रिजालले भने, ‘मेरो उम्मेदवारी पार्टीलाई वैचारिक र सांगठनिक ढंगले अगाडि बढाउनका लागि हो। पार्टीलाई नयाँ शिराबाट अघि बढाउँदा मात्रै पार्टी संगठन चलायमान हुन्छ। चलायमान संगठनले मात्रै पार्टी अघि बढ्न सक्छ। पार्टी निर्माणका लागि मैले यही भदौ १६ र १७ गते हुने प्रथम अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु।’

प्रदेशका सम्पूर्ण नेता, कार्यकर्ताको साथ र सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको भन्दै अध्यक्षका प्रत्यासी नेता रिजालले पार्टीलाई सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताए।

पछिल्लो समय पार्टीमा बैचारिक नेतृत्वको खडेरी परेको भन्दै कार्यकर्ता पंतिले आफूलाई पार्टी नेतृत्वका लागि अगाडि सारेको बताउँदै उहाँले कार्यकर्ताहरुको मनोभावनाअनुसार आफूले उम्मेदवारी घोषणा गरेको बताए।

‘पार्टीमा बैचारिक नेतृत्वको खडेरी पर्यो, जिल्ला नेतृत्वमा तपाईँ अगाडि सर्नुहोस् भनेर बारम्बार प्रदेशका अग्रज, नेता, कार्यकर्ता पंतिले आग्रह गरेपछि उहाँहरुको मनोभावना अनुसार मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ। कार्यकर्ताहरुबाट राम्रो प्रतिक्रिया आइरहेका छन्’, अध्यक्षका प्रत्यासी नेता रिजालले भने, ‘अग्रज र अनुजको सहयोग र हौसलाबाट म प्रदेशको नेतृत्वमा पुग्ने हो। त्यसैले मेरो उम्मेदवारीका पछाडि अग्रज नेताहरुको हात र साथ रहेको छ भने समकालिन र पछिल्लो पुस्ताका नेता कार्यकर्ताहरुको मतले नै म प्रदेश नेतृत्वमा पुग्ने हुँदा मरो उम्मेदवारीमा अग्रज र अनुजहरु दुवैको साथ र सहयोग रहेको छ।’

लुम्बिनी प्रदेशको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन वैचारिक र सफल नेतृत्व आजको आवश्यकता भएको भन्दै नेता रिजालले आफूले पार्टीको केन्द्रीय सदस्य पद छाडेर प्रदेश नेतृत्वमा दावी गरेको बताए। ‘प्रदेशको कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन मैले आसन्न प्रथम प्रदेश अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको छु’, नेता रिजालले भने।

प्रकाशित मिति: : 2023-09-01 14:52:00

प्रतिकृया दिनुहोस्