महावुधाम मेला भर्नेको घुइँचो

कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ। महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो।

दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत ठाउँबाट धार्मिक मेला भर्नका लागि मङ्गलबारदेखि नै महावुधाममा तीर्थयात्री भरिभराउ छन्। पछिल्लो समय महावुधाम आकर्षक गन्तव्य बन्दै गएको छ।

वर मागे पूरा हुने विश्वास रहिआएकाले यहाँ मेला भर्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताएका छन्।

चार हजार दुई सय मिटर अग्लो फाँटमा बुकीझार र त्यहाँको यात्रा गर्दा विभिन्न रोग निको हुने विश्वास रहीआएको छ। हरेक वर्ष मेलाको आकर्षण बढ्दै गएको पुजारी नरेन्द्र उपाध्याय बताए।

यो कालिकोट र दैलेखको सिमानामा पर्छ। महावुधाम समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा छ। यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चतुर्थीका दिन भव्य मेला लाग्छ। सो स्थानमा शिवलिङ्ग रहेको छ। महावुधाममा कालिकोटका काफ्ले कूलका एक जना तथा दैलेखका आचार्य कूलका एकजनाले पूजा गर्ने परम्परा छ।
 

प्रकाशित मिति: : 2023-08-30 08:44:00

प्रतिकृया दिनुहोस्