वाड्सना राई ‘थाइल्यान्डको नेपाल’ भनेर चिनिने पिलोक गाउँमा जन्मिएकी ‘थाई–नेपाली’ हुन्। उनी आफूलाई नेपाली भनेर चिनाउँछिन्।
थाइल्यान्डको सबैभन्दा ठूलो नेपाली संस्था थाई नेपाली संघकी केन्द्रीय अध्यक्ष हुन्। उनी व्यापार र सामाजिक कार्यमा सक्रिय छिन्। आफ्ना पुर्खाहरू सन् १९३३ तिर थाइल्यान्डको पिलोक आएको बताउँछिन्, उनी।
सन् २०१० सालमा स्थापना भएको थाई नेपाली जागृती संघ कालान्तरमा थाई नेपाली संघ बन्यो। जहाँ नेपालीहरू छन्, त्यहाँ शाखा छ। बैंकक शाखाभित्रै १० वटा उपशाखा छन्। त्यो संघ आज उनै राईले हाँकिरहेकी छन्।
‘म सानै हुँदा मेरा हजुरबाले फलामखानीमा काम गर्नुहुन्थ्यो। हजुरबा नेपाल, भारत, म्यान्मा हुँदै थाइल्यान्ड आउनुभएको हो रे। हामीहरू म्यान्माका नेपाली होइनौँ, थाई नेपाली हौँ। थाइल्यान्डको नागरिकता लिएका छौँ,’ उनले भनिन्।
दोस्रो विश्वयुद्धताका दर्जनाैँ नेपालीहरू म्यान्मार हुँदै थाइल्यान्ड आए। उनीहरू रैथाने बर्मा जातिसँगै थाइल्यान्ड भित्रिएका हुन्।
नेपालीहरू पिलोकको सिसा, फलामखानीमा काम गर्थे। उनीहरू पिलोकमै बसे। नेपालीबारे थाई सरकार लामो समयसम्म बेखरब बन्यो। अन्ततः देशभर छरिएका थाई–नेपालीहरू पिलोकबाटै फैलिएका हुन्।
‘नेपाली पहिचानको कुरा उठाइरहेका छौँ। कागजपत्रमा गोर्खा वा नेपाली लेखिएको छ। नेपालीमूलका नेपाली लेखिएको छ,’ थाई नेपाली संघकी अध्यक्ष राईले भनिन्, ‘हामी नेपालसँग जोडिन चाहन्छौँ। हामीहरू नेपाली हौँ।’
धेरै वर्षपछि नेपाल आएकी वाड्सना दुई हप्ता काठमाडौँ वरिपरि घुमेर बैंकक फर्किएकी छिन्। उनी र थाई नेपाली संघ यसपालि खाली हात फर्किएको छैन, ‘मेरो डान्स युनिभर्स’को उपाधि थाई नेपाली चेली खुशी कार्कीलाई दिलाएर फर्किएको छ।
थाइल्यान्ड फर्किएपछि वाड्सनाले भनिन्, ‘मेरो नेपाल घुमघाम धेरै राम्रो भयो। हामीहरू ४०–५० जनाको संख्यामा आएका थियौँ। मन्त्रीदेखि धेरै–धेरै नेपाली दाजुभाइ–दिदीबहिनीसँग भेट भयो। नेपाललाई मुटुमा सजाएर थाइल्यान्ड फर्किएँ।’
थाइल्यान्डको नेपाली इतिहास उनै वाड्सनाका हजुरबा सन्तराज राईको कथासित जोडिएको छ।
‘सन्तराज राईको नातिनीको हुँ भन्न पाउँदा गौरव लाग्छ। उहाँले थाइल्यान्डमा धेरै राम्राे काम गर्नुभएकाे छ। नेपालीहरूकाे एकता कामयै राख्नुभयाे। हामीहरू एकजुट छाैँ, एकठाउँमा उभिएका छाैँ,’ उनले भनिन्।