परिवर्तनका लागि राजनीति गरेको हो: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताएका छन्।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय सदस्यमा मनोनित छक्कबहादुर लामालाई सपथ ग्रहण गराउँदै उनले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको स्पष्ट पारे। 

‘प्रधानमन्त्री, सभामुख, मन्त्री, मुख्यमन्त्री हुनका लागि राजनीति गर्ने पार्टी होइन। देशमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो’, उनले भने, ‘जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो।’ उनले एमालेले मात्र जनताको समर्थन प्राप्त गर्न चाहने र बुझ्ने पार्टी रहेको बताए। त्यसका लागि उनले कार्यकर्तालाई सहज र सजक ढङ्गले जनतामा जान अभिप्रेरित गर्न आग्रह गरे।

अध्यक्ष ओलीले मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई गन्तव्यका साथ अगाडि बढाउने योजनाका साथ एमाले पार्टी अगाडि बढेको बताए। उनले भ्रष्टाचार र तस्किरी रोक्नका लागि भनेर आफूहरुले छानबिन समिति गठनको माग गरेको बताए। उनले सुन तस्करीमा शक्तिशाली अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेकाले छानबिन आवश्यक रहेको बताए।

उनले अहिलेको भद्रगोलस्थितलाई समृद्धिको बाटोमा लैजान आफूले खोजिरहेको भन्दै मुलुकमा कानुनको राज र संविधानसम्मत चल्नुपर्ने भनाइ राखे। ‘संविधानमा कहीकतै कमीकमजोरी रहेको छ भने भोलि संशोधन गर्न सकिन्छ’, अध्यक्ष ओलीले भने, ‘तर आजको संविधानअनुसार देश चलाउनुपर्दछ। पवित्र ढङ्गले देश चलोस्। कानुनको पालना राज्यले गराओस्।’ उनले राज्यले जनतालाई देशभक्ति र कानुन मान्न अभिप्रेरित गर्नुपर्ने भनाइ राखे।

यही साउन २९ गते बसेको एमाले सचिवालय बैठकले लामासहित केदार न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।

प्रकाशित मिति: : 2023-08-21 19:18:00

प्रतिकृया दिनुहोस्