‘हाम्रो मौलापुर’ पुस्तक विद्यार्थीको हात-हातमा

रौतहटको मौलापुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ। नगरपालिकाले नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रमअन्तर्गत ‘हाम्राे मौलापुर' पुस्तक लागू गरेको हो।

विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेका नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी लागू गरिएको मौलापुरका नगर प्रमुख रीनाकुमारी साहले बताइन्।

'स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, आनीबानी तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार, संस्कृति तथा रहनसहन, योग शिक्षा, अतिथि आदर सत्कारलगायतका विषयवस्तु समेटेका छौँ,' नगरप्रमुख साहले भनिन्।

उनले पाठ्यक्रममा समग्र मौलापुरभित्रको आर्थिक, सामाजिक, भौतिक तथा, आचरण, बानी ब्यहोरा, जनसाङ्ख्यिक अवस्थाका बारेमा जानकारी दिएको बताइन्।

विद्यार्थीलाई कक्षा कोठाभित्र पढाएर मात्रै नहुने भएकाले व्यवहारिक सिकाइ प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले स्थलगत सिकाइलाई स्थानीय पाठ्यक्रममा अनिवार्य गरिएको उनकाे भनाइ छ।

मौलापुर नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र साहले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान प्रदान गर्ने र अनिवार्य सीप सिकाउने गरी स्थानीय पाठ्यक्रमका विषयवस्तु तयार पारिएको बताए।

उक्त स्थानीय पाठ्यक्रमको लेखनकार्य हेमप्रसाद साहले गरेका हुन्। स्थानीय तहमा अध्ययन–अध्यापन नगरभित्रका सबै सामुदायिक विद्यालयले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि अनिवार्य विषय बनाएर एक सय पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेका छन्।

पाठ्यक्रम लागू भइसकेपछि आगामी दिनमा व्यावहारिक सिकाइको सिलसिला नियमित रूपमा नै सञ्चालन हुने साहले बताए। नगरपालिकाले राष्ट्रिय पाठ्यक्रममा आधारित हुँदै स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्य गरिरहेको शिक्षा संयोजक राजेन्द्र साहको भनाइ छ।

प्रकाशित मिति: : 2023-08-21 14:04:00

प्रतिकृया दिनुहोस्