समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक यही भदौ ३ गते नेकपा (एकीकृत समाजवादी पार्टी)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

आइतबार साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्षनेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जानकारी दिए।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो। मोर्चाको नेतृत्व अहिले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।

यसैबीच एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकमा आसन्न पोलिट्ब्यूरो बैठकका साथै केन्द्रीय कमिटी बैठकका तयारी तथा एजेण्डा, समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल भएको छ।

पार्टीले यही भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक तथा यही भदौ ५ गतेदेखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति र स्थान तोक्ने पार्टीले जनाएको छ।

प्रकाशित मिति: : 2023-08-19 21:24:00

प्रतिकृया दिनुहोस्