आइतबारदेखि संसदको अवरोध हट्छ: प्रधानमन्त्री प्रचण्ड

File Photo
File Photo

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने बताएका छन्।

स्व.रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारसँगकाे कुराकानीमा यस्तो बताएका हुन्।

संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुने दाबी गरे।

उनले भने, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईहरुलाई थाहा छँदैछ। हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनुभयो र उहाँसँग कुरा भएको छ। आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ। आशा छ भोलि सदन खुल्छ’, प्रधानमन्त्री प्रचण्डले भने।

उनले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको बताए।

प्रकाशित मिति: : 2023-08-19 11:12:00

प्रतिकृया दिनुहोस्