कांग्रेस बैठक: सुन तस्करी प्रकरणमा बोलेका कारण प्रतिशोध साँध्न सुनिल शर्माकाे पक्राउ

नेपाली कांग्रेस संसदीय दलको बैठकमा सो पार्टीका सांसद डा सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गरेका छन्।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सात/आठ वर्षअघिको मुद्दा भएको र अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण प्रतिशोध साँध्न पक्राउ गरेको हुनसक्ने भनी टिप्पणी गरेका हुन्।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउ सम्बन्धमा प्राप्त सूचनाका बारेमा र बैठकका कार्यसूची बारेमा ब्रिफिङ गरेको सांसद डिल्लीराज पन्तले जानकारी दिए।

बैठकमा संसद् बैठकको अवरोध, संसद्मा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, बजेटको प्रभावकारी कार्यान्वयन, संसद्मा कांग्रेसको प्रभावकारी भूमिकाका बारेमा सांसदहरूले आफ्ना धारणा राखेका थिए।

यसैगरी बैठकमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकभर आएको बाढीपहिरो, डेङ्गु रोग, लम्पी स्किन सङ्क्रमण, आँखा पाक्ने रोगको नियन्त्रण र रोकथाम तथा महङ्गी नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गरेको उनले बताए।

शुक्रबारको बैठकमा करिब डेढ दर्जन सांसदले आफ्ना धारणा व्यक्त गरेको र धारणा राख्ने क्रम बाँकी रहेकाले अर्काे बैठक आइतबार दिउँसो १ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-08-11 17:43:00

प्रतिकृया दिनुहोस्