संसदीय समितिमा भाग नपाएपछि रास्वाले भन्यो- हामी भाग खोज्न आएकै होइनौँ

सत्ता पक्षले संसदीय समितिको भागबण्डा मिलाएका छन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाएअनुसार भागबण्डापछि काँग्रेसले ४, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ३, माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादी पार्टीले १, जनता समाजवादी पार्टीले १ र जनमत पार्टीले १ समितिको नेतृत्व पाउने भएका छन्।

यीमध्ये एमालेबाहेक अन्य सबै पार्टी सत्तापक्षीय हुन्।

प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका ४ र संयुक्त २ वटा गरी १६ समितिको भागबण्डा मिलाउँदा अन्य साना दल र प्रमुख प्रतिपक्षी दल एमाले भाग पाउँदा संसदको चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व पाएनन्।

रास्वपा र राप्रपा दुवै पार्टी सरकार बाहिर छन्।

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले आफ्नो पार्टी सरकारमा नरहेकोले समितिको नेतृत्व नपाउनु स्वभाविक भएको बताए।

उनले रास्वपा जनताको काम गर्ने पार्टी भएकोले भाग नपाउँदैमा कुनै फरक नहुने भए। ‘हामी सत्तामा छैनौँ, त्यही भएर भाग पाएनाैँ’, अर्यालले भने, ‘हामी जनताको काम गर्न आएको हो, भाग खाेज्न हाेइन, पद नपाए पनि केही छैन।’

प्रकाशित मिति: : 2023-08-07 13:12:00

प्रतिकृया दिनुहोस्