त्रिविमा प्राध्यापकदेखि विद्यार्थीको दादागिरी: विद्युतीय हाजिरी बोकेर घर लगे, भाग मागेर हैरान पारे

File Photo
File Photo

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा प्राध्यापकदेखि विद्यार्थीसम्मको दादागिरी चल्ने गरेको खुलासा भएको छ। त्रिविको जिम्मेवारी लिएर नेतृत्वमा बसेका उपकुलपतिलाई उनीहरूले राजनीतिक दम्भ देखाउँदै अटेरी गर्ने गरेको खुलासा भएको हो।

त्रिविमा विद्युतीय हाजिरी नगर्नेदेखि विभिन्न बहानामा आफ्नो भागसमेत माग्ने गरेको त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले बताए। उनले त्रिविका प्राध्यापकहरुले विद्युतीय हाजिरीसमेत राख्न नदिएको खुलासा गरे।

शुक्रबार सङ्घीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उनले प्राध्यापकहरुले नै विद्युतीय मेसिन राख्न नदिएको खुलासा गरेका हुन्।

‘हाम्रा त शिक्षकहरु पनि यस्ता भए कि २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन। आएर हाजिर गर्यो, तलब बुझ्ने चलन। यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरुले बोकेर हिँडी दे।’

उपकुलपति बास्कोटाले विद्युतीय हाजिरी बोकेर हिँड्नेलाई कारवाही गर्नसमेत प्रहरीले नमानेको बताए। ‘विद्युतीय हाजिरी बोकेर हिँड्नेलाई पुलिसलाई ल कारवाही गर भन्दाखेरि पुलिसले निवेदन नलिने। यो माननीयहरुले जान्नुपर्छ,’ उनले भने, ‘मेरो अफिस बन्द थियो। मैले होटल एल्लो प्यागोडा, मेरो मित्रवत सम्बन्ध भएकाले पैसा नलिने, हामीलाई चिया पनि सित्तैमा खुवाउने त्यो ठाउँमा मिटिङ गरेको केही अराजक जत्था कुनै सङ्गठनको आवरणमा आएर हामीहरुको माईनुट लुटेर लगेकै हो।’

उपकुलपति बास्कोटाले विश्वविद्यालय राजनीतिक भागबण्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने बताए।

उनले भने, ‘राजनीतिक भागबण्डा हामीले बसालेको थिति हो। यसमा हामीले गम्भीर भएर विश्लेषण गरौँ। यो हटाउने भनेको हामीले नै हो। यो भीसी एक्लैले चाहेर हट्दैन। मैले जानकारी गराएँ।’

यस्तै उपकुलपति बास्कोटाले त्रिविमा विभिन्न नाममा भागबण्डा खोज्ने गरेको पनि खुलासा गरे। ‘त्रिविमा थुप्रै समस्याहरू छन्। हामीहरूकोमा कर्मचारी संगठन, प्राध्यापक संघ र विद्यार्थीको युनियन यो तीन वटा मात्रै हो,’ उनले अगाडि भने, ‘तर विद्यार्थीको २२ वटा दर्ता भएका छन्। जति राजनीतिक दल, त्यति नै छन्। कति राजनीतिक दल छन्, मलाई त्यो पनि थाहा छैन। तर ब्यानर लिएर आउँछन्। हाम्रो भाग चाहियो भनेर।’

प्रकाशित मिति: : 2023-08-04 18:30:00

प्रतिकृया दिनुहोस्