माओवादी पार्टी पार्टीजस्तो छैन, पुनर्निर्माणको अभियान थाल्नुपर्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी पार्टीजस्तो नभएको बताएका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सुरु भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पार्टी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता भएकाे बताए।

‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ’, उनले भने, ‘मलाई विश्वास छ सबैले गम्भीरता र जिम्मेवारीका साथ पार्टी पुनर्निर्माणको अभियानको थालनी गर्ने विश्वास व्यक्त गर्छु।’

उनले देशको राजनीतिक समीकरण र राजनीतिक उतारढताव तथा पार्टीको आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब भएर बैठक बस्न ढिला भएको बताए।

नेता कार्यकर्ताको सङ्ख्या ठूलो भए पनि माओवादी पार्टीजस्तो नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकबाट कम्युनिष्ट पार्टी पुनःनिर्माणको अभियान थाल्नुपर्ने बताए।

उनले गम्भीर, जिम्मेवारीपूर्वक र अनुशासितरुपले बहस छलफल गरी यस बैठकलाई पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन केन्द्रीय सदस्यलाई निर्देशन दिए।

सरकारले देश र जनताको पक्षमा सकारात्मक र रचनात्मक काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने पहल गरिरहेको बताए।

प्रकाशित मिति: : 2023-08-02 14:38:00

प्रतिकृया दिनुहोस्