अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज आइतवार मनाइँदैछ।
यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ।
यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौं, कसैलाई न्यायबाट बञ्चित नगरौं’ भन्ने नारासहित यो दिवस मनाइँदैछ। नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ।
सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ।
मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम बढिरहेको छ। विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौं मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन्। गरीबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन्।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको लागूऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ। सन् २०२० मा मानवबेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मानव बेचबिखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ।
मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ। मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानूनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरूको भनाइ छ।
‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न हाम्रा कानून अपुग र अव्यावहारिक छ,’ समाजशास्त्री मीना पौडेल भन्छिन्, ‘पहिल्यैतिर लोभलालच वा झुक्याएर बेचबिखन हुन्थ्यो, अहिले यसको आयाम फराकिलो भएको छ। अहिले महिला मात्र होइन, पुरुष पनि यसको जोखिममा छन्।’