सय किलो सुन बरामद प्रकरणमा थप ६ जना पक्राउ परेका छन्।
राजस्व अनुसन्धानको विशेष टोलीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी र तीन भन्सार एजेण्ड पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेण्टहरु यादवशङ्कर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा रहेकाे राजस्व अनुसन्धान विभाग स्राेतले जनाएकाे छ।
यो यस प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। यसअघि ट्यक्सी चालक तथा एक चिनियाँ नागरिकसहित १० जना व्यक्तिहरु पक्राउ गरेका थिए।
गत बुधबार त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिएको स्कुटरको ‘ब्रेक शु’मा फिट गरेर ल्याइएको करिब सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
सुन बरामदपछि विभागले अनुसन्धान जारी राखेको छ। हालसम्म सुनका मुख्य तस्कर को हो भन्ने पुष्टि भएको छैन।