भोलि काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ८ घन्टा विद्युत् प्रभावित हुने

भोलि बिहान काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो।

प्राधिकरणका अनुसार टेकु  सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ।

प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर  बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ।

कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा पनि बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

त्रिपुरेश्वर फिडर अन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर र थापाथली स्वीचिङ अन्तर्गत त्रिपुरेश्वर चोक, आशा अस्पताल, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालय होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोकसम्म बिजुली आपूर्ति बन्द हुने छ।

यस्तै भैंसीपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, भैंसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडर अन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत प्राधिकणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने जनाएको छ।

प्रकाशित मिति: : 2023-07-21 08:54:00

प्रतिकृया दिनुहोस्