बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ।
यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा. विशाल पाठकले जानकारी दिएका छन्।
यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु सङ्क्रमित छन्। उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उनले बताएका हुन्।
लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैँसी बढी प्रभावित भएका छन्। उनले भने, 'लम्पी स्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन। प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौँ।'
लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका सङ्क्रमित रहेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताएका छन्।
उनले भने, 'जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ। लेकाली चिसो हुने गाउँमा कम छ। अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ।'
नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ। लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ।