ललिता निवास प्रकरण: सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

File Photo
File Photo

ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरेकाे हाे।

उनी विराटनगर जानका लागि विमानस्थल पुगेकाे अवस्थामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। राउतविरुद्ध प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो।

माधवकुमार नेपाल प्रधानमन्त्री रहेको समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयका शाखा अधिकृत रहेका राउतले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ।

उक्त प्रकरणमा यसअघि आजै समरजंग कम्पनीका तत्कालीन प्रमुख घिमिरे र नापी अधिकृत अर्याल पक्राउ परेका छन्।

 साेही प्रकरणमा सिआइवीले यसअघि नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

कीर्ते तथा सङ्गठित रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन्।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2023-07-09 17:20:00

प्रतिकृया दिनुहोस्