‘सरकारकाे भ्रष्टाचार विराेधी अभियानबाट आत्तिएकाहरुले मविरुद्ध दुष्प्रचार गरे’

File Photo
File Photo

आफूमाथि ‘ललिता निवास प्रकरण’ संलग्न रहेको आरोप लागेपछि नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्व शिक्षा मन्त्री दीनानाथ शर्माले सरकारको भ्रष्टाचार अभियानबाट आत्तिएकाहरुले अनर्गल प्रचार गरेको टिप्पणी गरेका छन्।

कान्तिपुर दैनिकमा ललिता निवास प्रकरणमा शर्मा पनि संलग्न रहेको भनी समाचार प्रकाशित भएपछि उनले आइतबार दिउँसो विज्ञप्ति जारी गरी यस्तो बताएका छन्।

तत्कालीन समयमा शिक्षा मन्त्रालयको जिम्मेवारीमा रहेको शर्माले ललिता निवास प्रकरणसँग जोडिएका विषय कार्य क्षेत्रमा नपरेको र त्यससम्बन्धी कुनै पनि काम कारबाही नगरेको दाबी गरेका छन्।

‘म जिम्मेवार रहेको मन्त्रालयबाहेक भूमिसुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत काम कारबाही र निर्णय प्रक्रियामा मेरो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको कुरा प्रष्ट पार्न चाहन्छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले आफ्नो पार्टी, नेता कार्यकर्तालाई उक्त आरोपबाट बिचल्लित नहुने समेत आग्रह गरेका छन्।

शर्माले २०६८/०६९ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

उनले अहिलेको सरकारको भ्रष्टाचारविरुद्धको अभियानबाट आत्तिएकाहरुले दुष्प्रचार गरेको उनको आरोप छ। ‘हाम्रो पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएका विभिन्न पक्षले हाम्रो पार्टी र नेताहरुविरुद्ध फैलाउने अनर्गल दुष्प्रचार र भ्रममा कोही नपर्न तथा सुशासन र पारदर्शीताको पक्षमा उभिनसमेत अपिल गर्न चाहन्छु,’ उनले विज्ञप्तिमा भनेका छन्।

प्रकाशित मिति: : 2023-07-09 16:57:00

प्रतिकृया दिनुहोस्