नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई पैसा बुझाएको भन्ने अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ।
प्रहरी प्रधान कार्यालयले उक्त अडियोकाे आवाज शरणार्थी प्रकरणमा थुनामा रहेका दाङका शर्माकाे आवाजसँग मिलेको जनाएको हाे।
उक्त अडियो सार्वजनिक भएपछि आरजुले फेक अडियो भएकाे भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। प्रहरीका अनुसार उनकाे उजुरीकाे आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको हाे।
‘मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा 'स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच' भनी भनी उल्लेख भएको जुन स्वर (भ्वाइस ) जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको 'कन्ट्रोल स्याम्पल' सँग मेल खाएको छ’, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जनाएका छन्।
उक्त अडियो कहाँ र कसबाट भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले बताएको छ। कडायले जनाएका छन्, ‘कहाँ र कसबाट 'ओरिजिनेट' भएको भन्ने सम्बन्धमा 'टिकटक' सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको। निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ।’