इलामको पशुपतिनगर नाका शील भएपछि बजार सुनसान भएको छ। भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
बिहीबार साँझ ५ बजे शील गरिएपछि शुक्रबार र शनिबार बजार सुनसान भएको हो। ‘भारत, बङ्गलादेश, भुटानलगायत पर्यटक आउने नाका शील भएपछि दुई दिनदेखि व्यापार ठप्प भएको छ’, व्यापारी रोहित श्रेष्ठले भने, ‘यहाँको बजार बाह्य पर्यटकमा निर्भर छ।’
व्यवसायी रामसिंह यादव भन्छन्, ‘कोरोना कहरदेखि यता चहलपहल निक्कै बढेको थियो। हिजो र आज लकडाउनकै सम्झना आयो।’ दार्जिलिङमा आज उक्त निर्वाचन हुँदैछ। आज बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।
दार्जिलिङ र मिरिकबाट नेपाल प्रवेश र नेपालबाट भारत प्रवेश गर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर इलामको पूर्वी नाका हो।