सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ: मुख्यमन्त्री थापा

File Photo
File Photo

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताए।

नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने स्पष्ट पारे। उनले भने, ‘संविधानको मूल्य र मान्यताअनुसार यो सरकार गठन भएको छ, जनताको चाहनाअनुसार विकास र समृद्धिका कार्य अगाडि बढ्छन्।’

मुख्यमन्त्री थापाले आज पहिलो चरणमा दुईजना मन्त्री नियुक्त भए पनि केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने धारणा राखे। उनले गठबन्धन दलको सहमतिमा मन्त्रिमण्डल विस्तार गर्नुका साथै मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने बताए।

मुख्यमन्त्री थापाले प्रदेशलाई समृद्धि बनाउन सबैको सहयोग र सहकार्यका साथ वर्तमान सरकारले कार्य गर्ने स्पष्ट पारे।

प्रकाशित मिति: : 2023-07-07 18:17:00

प्रतिकृया दिनुहोस्