भारतको पूर्वोत्तर राज्य मणिपुरमा महिनाैँदेखि साम्प्रदायिक हिंसा फैलिँदा एक सयभन्दा धेरै मानिसहरूले ज्यान गुमाएका छन्।
राज्यमा बहुसङ्ख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्तबाट झन्डै साठी हजार मानिस विस्थापित भएका छन्। उनीहरू ३५० वटा शिविरमा आश्रय लिन बाध्य छन्। राज्यमा फैलिएको हिंसा नियन्त्रण गर्न सेना, अर्धसैनिक बल र प्रहरीका गरी झन्डै ४०,००० सुरक्षाकर्मी परिचालित छन्। प्रहरीका कोतबाट भिडले लुटेका ४,००० वटाभन्दा बढी हतियारमध्ये हिंसा सुरू भएपछि स्वेच्छापूर्वक केवल एकचौथाइ फिर्ता गरिएको बीबीसीले जनाएकाे छ।
लडाइँ गरिरहेका दुई समुदायबीच अविश्वासको तह अझ चुलिएको छ। दुवै समुदायले सरकारी सुरक्षाबलले 'पक्ष लिएको' आरोप लगाएका छन्। भिडले २०० वटाभन्दा बढी गिर्जाघर र १७ वटा मन्दिरमा क्षति पुर्याएका छन्। राज्यका मन्त्री र विधायकहरूका घरमा आक्रमण र आगजनी भएको छ। भारतको मणिपुरमा भड्किएको हिंसामा विस्थापित भएका करिब ६०,००० मानिस झन्डै ३५० वटा सिविरमा आश्रय लिइरहेका छन्
जनजीवन अस्तव्यस्त छ। रात्रिकालीन कर्फ्यू लगाइएको छ, विद्यालयहरू बन्द छन् र इन्टरनेट सेवा पनि अवरूद्ध छ। प्रदर्शनकारीहरूले सामान आपूर्ति गर्न प्रयोग हुँदै आएको एउटा मुख्य राजमार्ग बन्द गरिदिएका छन्। हत्या र आगजनीका घटना पनि फाट्टफुट्ट हुने गरेका छन्। 'युद्धविराम'को मध्यस्थता गर्नका लागि सङ्घीय सरकारले शान्ति समिति बनाउन गरेको प्रस्तावप्रति कोही उत्साहित देखिँदैनन्।
शान्त पूर्वोत्तर भारतका आठवटा राज्यमा ४०० वटाभन्दा बढी समुदायका ४.५ करोड मानिस बसोबास गर्छन्। उक्त क्षेत्रमा विभिन्न समुदायबीच शान्ति कायम गराउन थालिएका वार्ताहरू वर्षौँदेखि लम्बिएका छन्।
मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास छ। यो राज्यमा विविधता छ, अनि चर्को विभाजन पनि। त्यहाँ झन्डै ४० वटा विद्रोही समूहहरू सक्रिय छन्। मैतेई, नागा र कुकी विद्रोहीहरूले लामो समयदेखि सशस्त्र अभियान चलाउँदै आएका छन्। तिनले बेलाबेलामा भारतीय सुरक्षाबलमाथि आक्रमण गर्छन्। सुरक्षाबललाई खानतलासी गर्ने र खोस्ने अधिकार दिने 'एएफएसपीए'जस्ता विद्रोह दमन गर्न ल्याइएका कानुनहरूसँग ती समूह बिच्किएका छन्।
मणिपुरमा नेपालीको इतिहास
भारतीय राज्य मणिपुरमा ठूलाे संख्यमा नेपालीमूलका भारतीय गाेर्खा नागरिकहरू बसाेबास गर्छन्। मैतेई समुदाय र कुकी समुदायबीच फैलिएकाे साम्प्रदायिक हिंसाले उनीहरू त्रासमा छन्। नेपालीहरू सबैकाे चासाे छ, उनीहरू त्यहाँ कसरी पुगे—
मणिपुरमा गोर्खाली सैनिक सन् १८१९ तिर आएको अनुमान गरिन्छ।
बर्माले उबेला मणिपुर लक्षित आक्रमण थालेपछि मणिपुरको रक्षाका लागि गोर्खालीको प्रवेश भएकाे पाइन्छ। राजा गम्भीर सिंहको शासंनकालमा गोर्खालीहरूकाे प्रवेश मणिपुरमा भएकाे अनुमान छ।
सन् १८२४ मा १६औं सिल्थ स्थानीय बटालियनका गोर्खा, जो पछि आठौं गोर्खा राइफल्स बन्न पुगे, उनलाई गम्भीर सिंहको प्रहरी समूहमा समावेश गरिएको थियो।
मणिपुर सुरक्षित गर्न तत्कालीन राजा गम्भीर सिंहले सन् १८२५ मा सेना भर्नाको अभियान सुरू गरेका थिए। सेना निर्माणका लागि गोर्खालीलाई सिल्हातबाट भर्ती गरे। त्यो बेला राजा गम्भीरको मिलिसियालाई भिक्टोरिया पल्टनको नाम दिइएको बताइन्छ।
पल्टन नेपाली शब्द हो, यसबाट पनि स्पष्ट हुन्छ, गोर्खालीको सेनामा बिस्तार उही बेलादेखि भइसकेकाे थियाे। गोर्खालीहरू इमान्दार र कामकाजी हुन्थे। माथिल्लो तहले दिएको आदेश पूर्णरूपमा पालना गर्थ। विश्वास जितिरहेका गोर्खाली सैनिकको राम्रो अनुशासन देखेपछि भान्सामा काम गर्नेदेखि किसानसम्म ल्याउने अभियान सुरू भयाे।
साहित्यकार भवानी अधिकारीका अनुमानमा सन् १८८० तिर नेपाली मणिपुरमा बसोबास गर्न थालेका हुन्। जब ईस्ट इण्डिया कम्पनीले गोर्खा राइफल्सको केहि बटालियनलाई मणिपुर सार्यो, जताततै गोर्खाहरू देखिन थाले। बिस्तारै मणिपुर गोर्खामय भयो। गोलाघाट र सिलचरबाट २ सय गोर्खाली सैनिक यहाँ ल्याइएको थियो।
सन् १८९१ मा आसामका केही गाउँबाट पनि मानिस मणिपुर सरे। तत्कालीन महाराजा चन्द्रकृतिको शासनकालमा पनि धेरै संख्यामा गोर्खाली मणिपुर भित्रिएको चर्चा हुने गरेको स्थानीय बताउँछन्। २० औं शताब्दीको सुरूतिर गोर्खालीलाई आसाम सैन्य प्रहरीमा समेत भर्ती गरिएको इतिहासमा उल्लेख छ।
मणिपुरमा १६ औं शताब्दीतिर एक नेपाली परिवार आएर बसोबास गर्न थालेको समेत बुझिन्छ। मणिपुरका केहि अग्रज नेपालबाट यहाँ आएका ती मानिसले खेतीपाती र गाई, भैंसी पाल्न सुरू गरेको बताउँछन्।