नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नाे स्वार्थ नजोडिएको बताएका छन्।
ललिता निवास प्रकरणमा आफ्नाे नाम जोडिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै कसैले आजसम्म त्यस्तो आरोप नलगाएको उल्लेख गरे।
‘ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर म प को सामाजिक (?) समितिमा छलफलपछि म पबाट पारित भएजस्तो लाग्छ।मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ! यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु’, उनले फेसबुकमार्फत लेखेका छन्।
अध्यक्ष भट्टराईले भनेका छन्, ‘तत्कालीन प्रमको हैसियतले मसंग जोडिएको कुरा यत्ति हो! त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन।’
ललिता निवासलगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्छ, दोषीलाई कारबाही हुनुपर्छ भनेर आफूले संसदमा र बाहिर कुरा उठाउँदै आएको बताए।
‘देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु! त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु’, उनले भनेका छन्, ‘बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्!’