जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कानुन व्यवसायी अमीर लामिछानेले कुटपिट गरेका छन्।
‘कार्यालय समयमा हो–हल्ला मच्चाउँदै जिल्ला अदालतको फाँटमा गएका अधिवक्ता लामिछाने’ले आफूमाथि एक्कासी हातपात गरेको पीडितले बताइन्।
अदालत स्रोतका अनुसार लामिछाने दिउँसो ४ बजेर ३० मिनेट जाँदा तारेख लिन नासु कार्यरत कार्यालयकाे फाँटमा पुगेका थिए। पुनमाया मर्हजनविरुद्ध बद्री देशार भएको दूषित लिखत बदरसम्बन्धी मुद्दामा तारेख लिन पुगेका उनले फाइल खोज्दै गरेकी कर्मचारीमाथि हातपात गरेका हुन्।
कार्यालय भित्र–बाहिर ठुल्ठूलाे स्वरमा हल्लीखल्ली गर्दै अनुमतिबेगर मिसिल तानेर आफैँ कागजातहरू पल्टाउन थालेपछि फाँटका कर्मचारीहरूले त्यसाे नगर्न आग्रह गरेका थिए।
‘नासु प्रेमिकाले मिसिल नहेर्नुस्। कागजातहरू हराउँछन्। अहिले भीडभाड छ। तपाईंलाई आवश्यक भए नक्कल सारी हेर्नुहोला’ भनेपछि अधिवक्ता लामिछाने धेरै जान्ने हुन्छेस्, तँ को होस्? तलाई देखाउँछु भन्दै तथानाम गालीगलौज गरी हातपात समेत गरेको प्रहरी परिसर जावालाखेलमा दायर गरिएको जाहेरीमा उल्लेख गरिएको छ।
अधिवक्ता लामिछानले गालीगलौज गर्दै हातपात गरेको नासु प्रेमिकाको भनाइ छ। घटनापछि उनले जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी पनि दिएकी छन्।
लामिछानेको आक्रमणबाट उनको ओठमा समेत घाउ भएको छ भने सर्ट च्यातिएको छ। नासु प्रेमिकाले अधिवक्तालाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा ११० को उपदफा (१) बमोजिमको कसूर अपराध गरेको हुँदा दफा ११८ को उपदफा (२) बमोजिम सजाय गर्न ललितपुर प्रहरी परिसरसमक्ष माग गरेकी छन्।