डडेल्धुरा जिल्लाका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएका छन्।
जिल्लाको गन्यापधुरा गाउँपालिका, भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो।
गन्यापधुरा गाउँपालिकाबाट सुरुआत गरिएको घोषणा कार्यक्रम अहिलेसम्म चार वटा पालिकामा सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले जानकारी दिए।
उनका अनुसार गन्यापधुरा गाउँपालिकापछि भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ।
अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिकामा घोषणा गर्न बाँकी रहेको साउदले बताए। उक्त पालिकामा पनि घोषणा गर्ने तयारी भइरहेको बताइएको छ।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख तथा पूर्ण खोप जिल्ला समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले अहिलेसम्म घोषणा गरिएका पालिकामा उत्कृष्ट काम भएको छ।
यसमा विषेशगरी स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलगायतको भूमिका महत्त्वपूर्ण रहेको जानकारी दिए।
पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ।
सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घाषणा गरिने छ।
बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ। नियमित खोपबाट छुटेका बालबालिकालाई माघदेखि वैशाखसम्म खोज र खोप अभियान चलाउने गरिएको छ।
छुटेका बालबालिकालाई अभियानले समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने गरिएको हो।
खोपका विभिन्न सूचाङ्क पार गरेका स्थानीय तह र खोप लगाउनबाट कोही पनि वञ्चित नरहेका पालिकालाई घोषणा गरिएका छन्।
अब अन्य पालिकालाई पनि खोज र खोप लगाऊ भन्ने अभियानलाई तीव्र पारी जिल्ला नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला भनेर घोषणा गर्ने तयारीमा रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।