बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुगिन्। उनले नौ जवानले फुके झैंँ नरसिङ्गा फुक्छिन्। लोपहुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूले पञ्चेबाजाअन्तर्गत पर्ने नरसिङ्गा फुक्ने गरेको वलीले बताइँन्।
सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उनको भनाइ छ। ‘यो उमेरमा पनि मलाई कुनै रोगले छोएको छैन। म शारीरिक रुपमा पूर्ण रुपले स्वस्थ छु’, उनले भनिन्, ‘नरसिङ्गा अरु बाजा बजाए जस्तो होइन। यसलाई सासले बजाउनुपर्छ।’
वलीले आफूसँगै समूहमा आवद्धभएका अन्य महिलालाई पनि नरसिङ्गा बजाउन प्रेरित गरेको बताएकी छन्। ‘यो त सीप हो। सीपलाई हस्तान्तरण गर्नुपर्छ। गरिएन भने लोपहुँदै जान्छ’, उनले भनिन्, ‘अबको दुई-चार वर्षपछि मैले नरसिङ्गा बजाउन सक्दिन। नयाँ पुस्ताले अहिले नै सिके भने पछि बजाउन सक्छन्। नरसिङ्गा लोप नहोस् भन्नका लागि मैले अरुलाई पनि सिकाउने गरेको छु।’
अवसर पाए महिलाले सबै काम गर्न सक्छन् भन्ने सन्देश समाजलाई दिनका लागि आफूले नरसिङ्गा बजाउने काम रोजेको वलीको भनाइ छ। सुरुसुरुमा कुरा काट्नेले नि हिजोआज प्रशंसा गर्ने गरेको उनले बताइँन्।
संस्कृति संरक्षण समूहअन्तगर्तको पञ्चेबाजा उप–समूहमा आवद्ध मैसरी खत्रीले १० किलोको पञ्चेबाजा बाजा बजाउँछिन्। सानैबाट नाच्ने गाउने रुची भएकाले आफु समूहमा आवद्ध भएको उनले बताए। घाँटीमा झुण्ड्याएर पञ्चेबाजा बजाउन सजिलो नहुने खत्रीले बताइँन्। ‘काम त सजिलो कुन चै छ र ? १० किलोको पञ्चेबाजालाई घाँटीमा झुण्ड्याएर बजाई रहँदा सुरुसुरुमा हातमा फोका उठ्यो, ज्वरोले थला परिन्थ्यो’, उनले भनिन्, ‘महिलाले पनि पुरुष सरह सबै काम गर्न सक्छन् भन्ने लागेर मैले पनि दशदश किलोको पञ्चेबाजा बजाउने हिम्मत गरेकी हुँ।’
खत्री अहिले ४३ वर्ष पुगिन्। परिवारको साथ र सहयोग पाएर नै आफु पञ्चेबाजा बजाउन गाउँगाउँ जान पाउने उनले बताइँन्। पैसाभन्दा पहिचान महत्वपूर्ण भएकाले आफुले जानेको काम गर्न पाउँदा खुसी लाग्ने खत्रीको भनाइ छ। ‘पैसा कमाउनका लागि हामीले पञ्चेबाजा बजाएका होइनौँ। हाम्रो लागि पहिचान ठूलो कुरा हो’, उनले भनिन्, ‘पैसा खासै कमाइ नभए पनि गाउँमा हामीलाई पञ्चेबाजा बजाउन आउनुस् भनेर बोलाउँदा निकै खुसी लाग्छ।’ आत्मसम्मानले नै महिलालाई बलियो बनाउने खत्रीको बसझाइ छ। कुनैपनि काम गर्न महिलालाई उमेरले नछेक्ने बताउँदै उनले कुनै पनि काम गर्न ईच्छाशक्ति हुनुपर्ने बताइँन्।
सोही समूहमा आवद्ध भीमा विष्ट ५४ वर्षकी छन्। उनले अगुवा बाजा र सानो बाजा बजाउछिन्। संस्कृतिको संरक्षणका क्षेत्रमा केही नयाँ गर्नुपर्छ भन्ने सोंचले अगुवा र सानो बाजा बजाउन थालेको उनले बताइँन्। ‘म सानैबाट केही फरक गर्नुपर्छ भन्ने सोच्थे। जब मलाई अगुवा र सानो बाजा बजाउने जिम्मा समूहले दियो यो मेरो लागि नयाँ भयो’, उनले भनिन्, ‘एउटै काम गर्न भन्दा नयाँ–नयाँ काम गर्दा नयाँ कुरा सिक्ने मौका पाइन्छ र अनुभव पनि धेरै हुन्छ।’
विसं २०७९ असोजमा गठन भएको उक्त पञ्चेबाजा समूहले सुरुमा रू १० हजार मात्र कमाएको विष्टले बताइँन्। समूहको तर्फबाट पहिलो पटक उक्त रकम कमाउँदा निकै खुसी लागेको उनले बताइँन्।
भ–ूपरिधि कार्यक्रम (ताल)ले लोप हुँदै गइरहेको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाइ राख्नका लागि समूहलाई पञ्चेबाजा दिएर सहयोग गरेको सांस्कृति संरक्षण समूहका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिएका छन्। उनका अनुसार उक्त पञ्चेबाजा समूहमा १९ जना महिला आवद्ध छन्। सो समूहमा १० दमाहा, दुई टेम्कि (सानो बाजा), दुई जोडा चिल्लर, दुई सनई, दुई नरसिङ्गा र नेपाली पोसाक छन्।
बिहे, पूजा, उद्घाटन समारोहलगायत ठाउँमा गएर बाजा बजाउँदा महिलाले नेपाली पोसाक लगाउने गरेका अध्यक्ष विष्टले बताए। रुकुम र सल्यानबाट बसाइँ सरेर बाँकेको राप्तिसोनारी–८ ओभरीमा आएका रुकुमेली र सल्यानीले आफ्नो पूर्खाले पहाडमा जोगाइ राखेका मौलिक बाजा, संस्कृति र परम्परालाई बाँकेमा जोगउने उद्देश्यले पञ्चेबाजा समूह गठन गरेको उहाँको भनाइ छ। उनका अनुुसार सो समूूहको कोषमा अहिले रू ६५ हजार जम्मा भएको छ। समूह गठन भएदेखि उक्त समूहले रू एक लाख ३२ हजार कमाएको थियो।
बाजा बजाउन पञ्चेबाजा समूहका महिला बाँकेको विभिन्न ठाउँमा जानुका साथै छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यानहुुँदै रुकुमसम्म पुग्ने गरेका अध्यक्ष विष्टले जानकारी दिएका छन्। उनका अनुसार समूूहमा ३० देखि ६५ वर्षसम्मका महिला आवद्ध छन्।