संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अवकाशको पत्र थमाइएको छ।
६५ वर्षे उमेर हदका कारण आउँदो साउन २० गतेदेखि अनिवार्य अवकाश पाउन लागेका कार्कीलाई परिषद्ले पत्र काटेरै जानकारी दिएको हो। कामु प्रधानन्यायाधीश कार्की भने प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ प्रक्रियामै छन्।
सचिवालयका सहसचिवले पठाएको पत्रमा भनिएको छ, ‘यस सचिवालयमा रहेको अभिलेख तथा निजामती किताबखाना समेतबाट प्राप्त यहाँको वैयक्तिक विवरण अभिलेखका आधारमा सम्माननीय महोदय मिति २०८०।०४।१९ मा ६५ वर्ष पूरा भई उमेरका कारणले मिति २०८०–०४–२० देखि अनिवार्य अवकाश हुनुहुने व्यहोरा न्याय परिषद ऐन, २०७३ को दफा ३१ बमोजिम निर्णयानुसार जानकारी गराउँदछु।’
समितिले कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको १० दिनको अवधिमा २९ वटा उजुरी दर्ता भएको छ। उजुरी खोल्न संसदीय सुनुवाइ समितिको बैठक बस्न नपाउँदै कार्कीलाई परिषद्ले अवकाश पाउने मिति स्मरण गराइदिएकाे छ।
प्रधानन्यायाधीशले अवकाश हुनु एक महिना अघि नै बिदामा बस्ने प्रचलन छ। यस्तो अवस्थामा कार्की असार १९ गतेभित्र प्रधानन्ययाधीश नबनेमा कार्कीसहितको बैठकले भावी प्रधानन्यायाधीशका लागि अर्को नाम सिफारिस गर्नुपर्नेछ।