पाटन अस्पतालको एम्बुलेन्स चालकका रूपमा अनिल तामाङले काम गर्न थालेको चार वर्ष भइसक्यो।
विभिन्न किसिमका बिरामीहरुलाई अस्पताल पुर्याउनु र थप उपचारका लागि राजधानीका अन्य अस्पताल लैजानुपर्ने उनको मुख्य जिम्मेवारी छ। जिम्मेवारी पूरा गर्ने क्रममा ट्राफिक जामले अवरोध गर्ने गरेको अनुभव उनको छ।
चालक तामाङ भन्छन्, ‘एम्बुलेन्स एउटा संवेदनशिल सवारी साधन हो। जुनबेला पनि फोन आउन सक्छ भनेर तयारीमै बसिरहनुपर्छ। ड्युटी नै नभए पनि हाम्रो मांनसिकमा के हुन्छ भने एम्बुलेन्स सम्हालेर बसिरहेको छु, जुनैबेला पनि कसैले फोन गरेको खण्डमा जानुपर्छ भन्नेमा हुन्छौं।’
साथै उनले विरामी लिएर हुइँकिरहेको बेला काठमाडौं उपत्यकाको ट्राफिक जामको दुःख सबैभन्दा धेरै रहेको बताए। उनले जामले गर्दा बाँच्ने बिरामी पनि समयमै अस्पताल नपुग्दा मृत्यु भएको धेरै घटनाहरुले आफूलाई दुखित गराउने गरेको बताए।
उनले साना सवारीहरु मोटरसाइकल, कार र ठूला सवारीहरुले बाटो नै नछाड्ने अवस्थाको सामना गर्नुपर्ने बताए। निजी सवारी साधन चलाउनेहरु झ्याल–ढोकाको सिसा डम्म लगाएर एम्बुलेन्सको आवाज सुन्नुहुन्न। जति नै साइरन बजाए पनि बाटो छोड्नुहुन्न। यस्तोबेला धेरै नै तनाव गराउँछ। त्यसैले यस्ता समस्या समाधानका लागि छुट्टै सडक लाइनको व्यवस्था भए एम्बुलेन्स चालकहरुलाई सहज हुने उनको भनाइ छ।
‘कहिलेकाँही एम्बुलेन्सभित्र नै विरामीको मृत्यु हुन्छ। त्यो बेला अत्यन्तै दुःख लाग्छ। किनकी हामी विरामी बाँचोस् भनेर नै सेवा दिइरहेका हुन्छौं। यसमा पनि ट्राफिक जामको ठूलो भूमिका हुन्छ। जामले गर्दा बाच्ने बिरामी पनि समयमै अस्पताल नपुग्दा मृत्यु भएको धेरै घटनाहरु देखेका छौं। साना सवारीहरु मोटरसाइकल, कार, र ठूला सवारीहरुले बाटो नै नछोड्ने अवस्थाको सामना गर्नुपर्छ। प्राइभेट गाडि चलाउनेहरु सिसा डम्म लगाएर एम्बुलेन्सको आवाज सुन्नुहुन्न जति साइरन बजाए पनि बाटो छोड्नुहुन्न। यो समस्या समाधानका लागि छुट्टै सडक लेनको व्यवस्था भए एम्बुलेन्स चालकहरुलाई सहज हुन्थ्यो।’
यसैगरी उनले एम्बुलेन्सलाई राज्यले अलग्गै अंग नै बनाउनुपर्ने बताए। एम्बुलेन्स, दमकलहरुको लागि एउटा छुट्टै बाटो बनाउन आग्रह समेत गरे।
‘ड्यूटी गर्न आइसकेपछि परिवारसँग धेरै समय बिताउन पाइँदैन् २४ घण्टा नै उपस्थित हुनुपर्छ। एक्कासी बिरामी र बिरामीको मृत्यु हुँदा पहिले डर लाग्थ्यो। अहिले एम्बुलेन्स चलाउँदा जहिले यस्तै मान्छे बोक्नुपर्ने भएकाले बानी परिसक्यौं। सिकिस्त बिरामीलाई सकेसम्म सम्बन्धित ठाउँसम्म या अस्पतालसम्म समयमा पुर्याउन पाएको भए हुन्थ्यो भन्ने दिमागमा आइ नै रहन्छ,’ उनले भने, ‘तर हाम्रो ट्राफिक प्रहरी चोकचोकमा हुनुहुन्छ सामान्य सहयोग गर्नुहुन्छ। पहिला काठमाडौं महानगरपालिकका मेयर बालेन साहले एक्बुलेन्सहरुको लागि छुट्टै रातो पेटी बनाउनु भएको थियो, त्यो राम्रो थियो तर अहिले किन त्यो हट्यो। यसमा सरोकारवालाहरुको ध्यान जानुपर्छ। एम्बुलेन्सलाई राज्यले अंग नै बनाउनुपर्छ जस्तो लाग्छ। एम्बुलेन्स, दमकलहरुको लागि एउटा छुट्टै बाटो बनाउन आग्रह गर्न चाहन्छु।’
यसैगरी रवि धिमाल एम्बुलेन्स सव बाहनका चालकको रुपमा काम गर्न थालेको ६ बर्ष वित्यो। उनको र तामाङको पीडा पनि मिल्दोजुल्दो छ।
उनी भन्छन् ‘कसैलाई आपत परेको बेला फोन आउँछ। आपत पर्यो भनेर हामी पनि आफ्नै दुःख जस्तो गरेर हुईकिन्छौं। तर कहिलेकाँही निजी सवारी चलाउनेले बाटोको सही सदुपयोग नगरेको हो कि जस्तो लाग्छ। एम्बुलेसन्लाई प्राथमिकता दिन नखोजेको हो कि जस्तो देखिन्छ।’
साथै उनले ट्राफिकहरुले पनि कहिले सघाउने त कहिले बेवास्ता गर्ने गरेको गुनासो गरे। उनले जतिबेला पनि दौडनुपर्ने भएकाले सुत्ने उठ्ने र परिवारलाई धेरै समय दिन नसक्दा दुःख लाग्ने गरेको बताए।
उनले भने,‘ट्राफिकले जनचेतनामूलक तालिमहरु दिए हुन्थ्यो। एम्बुलेन्स आएपछि प्राथमिकता दिनुपर्छ भन्ने मानसिकता विकास हुनुपर्छ। ट्राफिकहरुले पनि कहिले सघाउनुहुन्छ, कहिले वास्ता गर्नुहुन्न। कोही कोही रिसाउनु पनि हुन्छ,’ उनले अगाडि भने,‘हाम्रो सुत्ने उठ्ने केही ठेगान हुँदैन्। परिवारलाई समय नदिई दुःख परेकालाई सहयोग गर्न पाएका छौं। त्यो चाँही सुखद हो।’
उनले एम्बुलेन्स र दमकललाई राज्यले प्राथमिकता दिने खालको वातावरण बनाउन आग्रह गरे।
‘एम्बुलेन्स र दमकललाई सडकमा प्राथमिकता दिने खालको वातावरण भइदिएको भए कसैलाई अप्ठ्यारो पर्दा सेवा गर्न गएको बेला चाँडै पुगिन्थ्यो कि भन्ने छ। राज्यले कुनै माध्यमबाट चेतना दिए हुन्थ्यो भन्ने छ। ट्राफिक जामको समस्या एकातिर छ। साइरन बजाउँदा पनि कतिपय निजी सवारी चालकहरु अटेर गरिरहन्छन्। यसमा सबैले ध्यान दिनुपर्छ,’ उनले भने।
यस्तै अर्का एम्बुलेन्स चालक मानबहादुर चँधाराले ट्राफिकले नै दुःख दिने गरेको बताए। उनले साइरन बजाएकै कारण ट्राफिक प्रहरीले चिट काटेको भन्दै दुःख व्यक्त गरे।
उनले भने, ‘ट्राफिकले धेरै दुःख दिन्छ, अनावश्यक चिट काट्छ। बिना काम साइरन बजाएर हामी हिड्दैनौं। तर बिरामी लिन जाँदा बजाउने हो र बिरामी फर्किँदा बजाउने हो। यसरी बजाउँदा पनि ट्राफिकले किन बजाएको भन्दै दुःख दिनु भएन। पाँच सय रुपैयाँको चिट काटेर ट्राफिक प्रहरीले धेरै दुःख दिइरहेको छ।’
साथै उनले एम्बुलेन्स चालकलाई सबैभन्दा बढी समस्या हुने ठाउँ ललितपुरकोे ग्वार्को चोक भएको बताए। उनले चोकमा ट्राफिक जाम हुँदा बिरामी बोकेर एम्बुलेन्स दुई तीन किलोमिटर जाममा घुमेर आउने अवस्था रहेको बताए।
यसैगरी उनले बिरामीलाई अस्पताल चाँडो भन्दा चाँडो पुर्याउन सकियो भने बिरामीको छिटो उपचार गराएर निको हुन्थ्यो की भन्ने सोच भएपनि ट्राफिक जामले गर्दा चालक निकै पीडामा परेको बताए।
उनले यसमा पनि ट्राफिक प्रहरीको लापरवाहीका कारण वा पछाडिबाट एम्बुलेन्स आइरहँदा बाटो खाली नगरिदिएको गुनासो गरे।
उनले भने, ‘हाम्रो भन्नु अरु केही छैन। खासगरी बिरामीलाई अस्पताल चाँडो भन्दा चाँडो पुर्याउन सकियो भने बिरामीको छिटो उपचार गराएर निको हुन्थ्यो की भन्ने हो। तर ट्राफिक जामले गर्दा एम्बुलेन्स चालक निकै पीडामा पर्छौं। यसमा पनि ट्राफिक प्रहरीले हेलचेक्र्याइ गरिदिन्छ। एम्बुलेन्स आएपनि प्रहरी चुप लागेर बसेर हेरिरहन्छ। पछाडि एम्बुलेन्स छ भन्ने थाहा छ तर बाटो खाली गर्ने प्रयास गर्दैन्।’
उनले काठमाडौंको जामले सबैभन्दा धेरै तनाव दिएकाले फ्रेस भएर काम गर्न नसकिने बताए। उनले ट्राफिक जाम व्यवस्थापनको लागि सरकारसँगै काठमाडौं र ललितपुर महानगरपालिकाले यो मर्का बुझ्नुपर्ने बताए। ‘एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्र, प्रहरीजस्ता आकस्मिक सेवाका लागि सानै भए पनि सडकमा छुट्टै लेन राख्नुपर्ने उनको भनाई छ।
‘एम्बुलेन्स, दमकललाई अलिकति सुविधा दिनुपर्यो। तनाव दिनु भएन्। फ्रेस दिमागले काम गर्ने वातावरण बनाइदिनुपर्छ,’ उनले अगाडि भने,‘एम्बुलेन्स चालकले रात पनि भन्दैन, दिन पनि भन्दैन, घाम–पानी भन्दैन्। भात पस्किएको पनि बिरामीको फोन आएपछि छाडेर जानुपर्छ। तर ट्राफिक जाम व्यवस्थापनको लागि सरकारसँगै काठमाडौं र ललितपुर महानगरपालिकाले मर्का बुझ्नुपर्ने हो। ‘एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्र, प्रहरीजस्ता आकस्मिक सेवाका लागि सानै भए पनि सडकमा छुट्टै लेन राख्नुपर्यो।’
विश्वभर एम्बुलेन्स र दमकल सडकमा पहिलो प्राथमिकतामा पर्छन्। एम्बुलेन्स र दमकललाई क्रसिङमा पनि सिधै अघि जान दिइने व्यवस्था भएपनि काठमाडौं उपत्यकाभित्रका सडकमा घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ।
नेपालमा आपतकालीन सेवाको लागि छुट्टै बाटो तयार पार्न नसक्नु वा एम्बुलेन्स र दमकललाई बाटो छाड्नुपर्छ भन्ने मानसिकताको विकास नहुनु सबैभन्दा ठूलो समस्याका रुपमा देखिने गरेको छ।
सरकारले एम्बुलेन्स सेवालाई राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ल्याएर कार्यान्वयनमा ल्याइसकेको छ। नयाँ निर्देशिका सरकारबाट स्वीकृत भएसँगै एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ खारेज गरेको थियो। मापदण्ड विपरित एम्बुलेन्स संचालन गरेको घट्ना भेटिन थालेपछि सरकारले नयाँ निर्देशिका ल्याएको थियो।