देशका विभिन्न ठाउँमा वर्षा सुरु भएको छ। तर पूर्वी नेपालको मोरङमा भने ‘अतिवृष्टी’ भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव पनि मिसिएपछि देशका केही ठाउँमा वर्षा हुन थालेको हो।
देशका विभिन्न स्थानमा जडित वर्षा मापन स्टेशनहरूमा रेकर्ड भएअनुसार बितेको २४ घण्टामा मोरङको केराबारीमा अत्यधिक वर्षा मापन गरिएको छ। रेकर्डअनुसार यो २४ घण्टामा त्यहाँ लगभग ४०१.२ मिलिमिटर वर्षा मापन भएको हो।
मौसमी गणितमा सामान्यतया २ सय मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई अतिवृष्टी अर्थात् अति भारी वर्षा मानिन्छ। यसले अप्रत्याशित आपदाहरू पनि निम्त्याउनसक्छ।
गत असोजयता नेपालमा ठूलो वर्षा भएको छैन। हिउँदका महिनाहरू विना वर्षा सुख्खा बितिसकेका छन्।
विभागका अनुसार सप्तरी, मकवानपुर, प्यूठान, सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लाहरूमा पनि मध्यम तथा हल्का वर्षा भएको छ। शुक्रबार पश्चिम नेपालका केही स्थानमा वर्षा भएको थियो र केही हिमाली भेगमा हिमपात भएको थियो।
वर्षा गराउने सम्भावना बोकेको यस्ता वायुको प्रभाव केही दिन रहने विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।