१९ बुँदे निर्णय गर्दै निजामती कर्मचारी संगठनको भेला सकियो 

१९ बुँदे निर्णय गर्दै निजामती कर्मचारी संगठन महिला विभागको दुई दिने भेला सकिएको छ।  ‘समता र सशक्तीकरणः सेवामा सबलिकरण’ भन्ने मूल नाराका साथ शनिबारदेखि सुरु भएको भेला आज (आइतबार) सकिएको हो। 

भेलाले नेपालको संविधान तथा कानुनले व्यवस्था गरेको महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ। त्यस्तै, नागरिक अधिकारको रुपमा रहेको विविधता, समता र समावेशी सिद्धान्तलाई पूर्ण रुपमा कार्यान्वयन गर्न, लिङ्गको आधारमा कसैलाई विभेद र निरुत्साहित पार्न नपाइने नीतिलाई कडाइका साथ लागु गर्न, तालिम अध्ययन तथा वैदेशिक भ्रमणमा महिला कर्मचारीलाई प्राथमिकता दिन सरकारसँग माग गर्ने भेलाको निर्णय छ। 

राजपत्र अनंकित महिला कर्मचारीहरुलाई अनिवार्य रुपमा र राजपत्रांकित महिला कर्मचारीलाई सम्भव भएसम्म उनीहरुको माग र आवश्यकताअनुसार पायक पर्ने स्थानमा सेवा गर्ने अवसर प्रदान गर्न, महिनावारी भएको बेलामा तीन दिन बिदा दिन, वृत्ति विकासका अवसरहरुमा महिला कर्मचारीलाई विशेष प्राथमिकता दिन सरकारलाई दबाब दिने भेलाले निर्णय गरेको छ।

साथै, सरकारले प्रदान गर्ने निजामती सेवा पुरस्कार र विभूषणलाई समानुपातिक बनाउनलगायतका माग राख्ने निर्णय गरिएको छ। 

प्रकाशित मिति: : 2023-06-11 20:47:00

प्रतिकृया दिनुहोस्